एलिना भन्छिन्, ‘भुईँबाट उठाएर तपाईँले गायिका बनाउनुभयो, मैले बिर्सिने छैन’



काठमाडौं। पछिल्लो पटक पर्वतको कार्यक्रममा विवादित बनेकी गायिका एलिना चौहानले आत्म आलोचना गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेको भन्दै कमजोरी स्वीकार गरेको बताएकी छन् ।

उनले लेखेकी छन्, “जीवन भनेकै सिकाई र भोगाई त रहेछ । देश तथा विदेशका श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन हो । त्यही कारण म जे छु आज छु । हिजो जस्ती थिए उस्तै छु । सफलता र प्राप्तिले मलाई आफ्नो धरातल कहिल्यै बिर्साएन । बिर्सिने पनि छैन किनकि मलाई त भुईँबाट उठाएर तपाईँहरूले गायिका बनाउनुभयो । तपाईँहरूकै मायाले आज देश तथा विदेशका आयोजकले मलाई मञ्च उपलब्ध गराइरहनुभएको छ । त्यसैले पनि पारिश्रमिकलाई महत्त्व नदिई सकेसम्म म सबै जसो ठाउँमा पुग्ने प्रयास गरिरहेकै छु ।”

उनले साउन्ड इन्जिनियर, रेकर्डिष्ट, छायाकार, अडियो/भिडियो सम्पादकलाई पर्दा पछाडिका हिरो रहेको र उनीहरू आफूहरूलाई दर्शक श्रोता बिच पुर्‍याउने मूल पात्र रहेको मसिनो गरी बुझेको छु जनाएकी छन् । साथै उनले उनीहरूको सम्मान र स्वाभिमान प्रति सधैँ सचेत रहेको बताएकी छन् ।

उनले थपेकी छन्, “यति हुँदा हुँदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतिका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो । सो घटनामा तत्कालीन समयमा म आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकोप्रति आत्मालोचना गर्दछु । मञ्चिय प्रस्तुतिका क्रममा साउन्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रूपमा स्वीकार गर्दछु । आगामी दिनहरूमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु । जय गीत, जय सङ्गीत ।”

गत फागुन २० गते पर्वतको कुस्मामा आयोजित मगर महोत्सवमा गायिका चौहान र साउन्ड टेक्निसियनसँग भनाभन भएको थियो । सो घटनापछि चौहानले गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनले चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu