सिनेमा साक्षरता अभियानमा अस्कर कलेज



काठमाडौं। अस्कर इन्टरनेशनल कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ। चैत १४ देखि २५ सम्म सञ्चालन हुने सिनेमा साक्षरता अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा गर्न लागिएको बताइएको छ।

अस्कर कलेजद्वारा जारी विज्ञप्तिमा पूर्वको बिर्तामोडबाट सुरु हुने सिनेमा साक्षरता अभियान बिराटनगर, इटहरी, जनकपुर, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर समापन हुने जनाइएको छ।

चलचित्रका धेरै गतिविधि काठमाडौं केन्द्रित भएकोले काठमाडौं बाहिर यस्ता कार्यक्रम गरिराख्नुपर्ने खाँचो महसुस गरेर यो अभियान सुरु गरेको कलेजका प्राध्यापक रामराजा दाहालले बताए। उनले नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरूमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले यो अभियान गर्न लागिएको बताए।

प्लस टु सकेर ब्याचलर तहमा के पढ्ने भन्ने सोचिरहेका विद्यार्थीहरूलाई लक्षित गरिएको यो अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत सिनेमा शिक्षाका विविध पक्ष समेटिनेछन्। चलचित्र सम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरू, चलचित्रको इतिहास, चरित्रबारे जानकारी दिँदै सुरु हुने बताइएको छ। 

कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरूको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरूले तत्कालै एउटा कथालाई कसरी पटकथामा रूपान्तरण गर्ने कुरा पनि सिकाइने छन्। कागजमा लेखिएका कुरालाई कसरी श्रव्य दृश्यमा रूपान्तरण गर्ने भनेर त्यहीँ प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक दाहालले बताए। कार्यक्रममा कलेजबाट दीक्षित र पढिरहेका विद्यार्थी गरी दुई जनाको फिल्मसमेत देखाइने छ।

नयाँ पुस्ता नै भविष्यका राम्रा फिल्ममेकर, समीक्षक वा प्रशिक्षक हुने भएकोले पनि नयाँ पुस्तालाई लक्षित गरिएको र यो सिनेमा साक्षरता अभियानले सिनेमाप्रति हुटहुटी जगाउने आयोजकको अपेक्षा छ।

अस्कर कलेजले विगत दुई दशकदेखि नेपालमा सिनेमा शिक्षा प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu