
काठमाडौं – दुई दशकदेखि रङ्गमञ्चमा लेखन, निर्देशन तथा अभिनयमार्फत सक्रिय रहँदै आएका कलाकार प्रदीपकुमार चौधरी ‘पिके डन’ ले निर्देशनमा डेब्यु गरेको नयाँ चलचित्र ‘तरंग’ को आधिकारिक प्रदर्शन मिति तय गरिएको छ। निर्माण टोलीले शुक्रबार चलचित्रको एक आकर्षक पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर १८ गते बाट यसलाई देशव्यापी रूपमा सार्वजनिक प्रदर्शनमा ल्याउने घोषणा गरेको हो। सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापालाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
यस चलचित्रमा पोस्टरमा देखिएका कलाकारहरूका अतिरिक्त सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग र विशाल सेनेहाङ्गको महत्त्वपूर्ण अभिनय रहेको छ भने बाल कलाकारका रूपमा प्रन्शु चौधरीलाई पनि पर्दामा देख्न सकिनेछ। देवदत्त क्रिएसनको ब्यानरमा एवी फिल्मीको सहकार्यसहित निर्माण भएको यस चलचित्रका निर्माता तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी हरिनारायण चौधरीले सम्हालेका छन्। प्राविधिक पक्षतर्फ हेर्दा, महेश पौडेलको छायांकन रहेको यस सिनेमालाई सन्देश शाहले सम्पादन गरेका छन्। सम्राट बस्नेतको एक्सन निर्देशन रहेको चलचित्रमा मनोज थापामगर, पवन गिरी र मनोज महतोले सङ्गीत भरेका छन्। चलचित्रका गीतहरूमा सुगम पोखरेल र मेलिना राईका साथै पवन गिरी, मनोज महतो र मनोज थापामगरको सुमधुर स्वर सुन्न सकिन्छ। चलचित्रको ब्याकग्राउन्ड स्कोर मनिष निरौलाले तयार पारेका हुन्।
देशका विभिन्न रमणीय तथा ऐतिहासिक स्थानहरू मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको ‘तरंग’ लाई निर्देशक चौधरीले ‘सुपर नेचुरल लभस्टोरी’ अर्थात् अलौकिक प्रेमकथाको अनुपम सङ्गम भएको बताएका छन्। उनका अनुसार, समाजमा सामान्यतया देखिँदै र भोगिँदै आइएका परम्परागत प्रेमकथाहरूभन्दा नितान्त भिन्न र नौलो प्रकृतिको कथावस्तु यस चलचित्रमा पस्कने प्रयास गरिएको छ। सम्पूर्ण प्राविधिक तथा निर्माण कार्य सम्पन्न भइसकेको यस चलचित्रलाई श्रीराम बालाजी फिल्म्सका लागि वितरक सुनिल मानन्धरले देशभरका सिनेमाघरहरूमा वितरण गर्ने जिम्मा लिएका छन्।


