
काठमाडौं – प्रविन आचार्यको प्रस्तुति तथा राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ को प्रमुख भूमिकामा लोकप्रिय अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। निर्माण पक्ष र अभिनेता भुषालबीच हालै मात्र यस चलचित्रका लागि औपचारिक रूपमा सम्झौता भएको हो। हाल सिनेमाघरहरूमा प्रदर्शनरत चलचित्र ‘रोल नम्बर १’ मार्फत दर्शकको माया पाइरहेका भुषालले ‘कंगाल करोडपति’ को कथावाचन शैली र आफूलाई प्रस्ताव गरिएको पात्र निकै रोचक लागेकाले यस प्रोजेक्टमा जोडिएको बताएका छन्। उनले आफूलाई धेरै स्क्रिप्टहरू प्राप्त भइरहेको भए पनि यस चलचित्रको भिन्न कथावस्तुले विशेष आकर्षित गरेको प्रस्ट पारे।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा अनिलकुमार बुढाथोकीले निर्माताको जिम्मेवारी सम्हालेका छन् भने छिरिङ तामाङ सहनिर्माताका रूपमा रहेका छन्। त्यसैगरी, रीता श्रेष्ठ तामाङ र सुरज कुमारलाई लाइन प्रोड्युसरको जिम्मा दिइएको छ। चलचित्रको कथा तथा पटकथा लेखक सुमन गजमेरले तयार पारेका हुन्।
यस चलचित्रका लागि हाल अन्य कलाकारहरूको छनोट प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ। बाँकी सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीको विस्तृत विवरण केही समयपछि एकमुष्ट रूपमा सार्वजनिक गरिनेछ। निर्देशक राजु श्रेष्ठका अनुसार, कलाकार छनोटको सम्पूर्ण काम सकिनेबित्तिकै कार्यशाला (वर्कसप) सञ्चालन गरिने र त्यसलगत्तै चलचित्रको छायांकन सुरु गर्ने तयारी निर्माण टोलीले गरेको छ।


