एचबीओद्वारा चलचित्र ‘द रेड सुटकेस’को युरोपेली देशका लागि ओटीटी खरिद



काठमाडौं। नेपालमा चैत ३० गते रिलिज हुने नेपाली चलचित्र ‘द रेड सुटकेस’को १५ युरोपेली देशका लागि ओटीटी अधिकार एचबीओले खरिद गरेको छ। हलिउड म्यागेजिन भेराइटीमा प्रकाशित समाचार अनुसार यो चलचित्रको मलेसिया र ब्रुनाईमा पनि थिएटर रिलिज अधिकार बिक्री भइसकेको छ।

एचबीओले ओटीटी अधिकार खरिद गरेसँगै लगानी सुरक्षित भएको निर्माता रामकृष्ण पोखरेलले बताएका छन्।

मध्यम तथा न्यून वर्गीय नेपाली समाजका युवाहरूको वर्तमान कथामा मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्र बनेको छ। यसको प्राविधिक काम श्रीलङ्का र भारतमा गरिएको छ।

फिडेल देवकोटाले निर्देशन गरेको यो चलचित्रले विभिन्न महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्डहरू जित्न सफल छ। चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा, सृष्टि श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेको छ। सुशन प्रजापतिको छायाङ्कन र समन अलभितिगाको सम्पादन छ। जर्मनीबाट भिजुअल एन्थ्रोपोलपजी विषयमा विद्यावारिधि गरेका निर्देशक देवकोटाको यो पहिलो चलचित्र हो।

यो चलचित्र आइसफल प्रोडक्सनको प्रस्तुति, सिने संकिपासँगको सहकार्य र फिल्म काउन्सिल प्रोडक्शन्सको सह-निर्माणमा बनेको हो। रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको यस चलचित्रका सह-निर्माता श्रीलङ्काका विमुक्ति जयसुन्दरा हुन्। 

जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मले विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ। यो चलचित्रको नेपाल वितरक आरआर फिल्मस हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu