दश करोड चौध लाख ग्रस कलेक्सन सहित तेस्रो सातामा ‘महाजात्रा’



काठमाडौं। नेपाली चलचित्र ‘महाजात्रा’ तेस्रो सातामा प्रवेश गरेको छ। देशभरका एक सय भन्दा बढी हलमा प्रदर्शनरत यो चलचित्रले दुई सातामा दश करोड चौध लाख ग्रस कलेक्सन गरेको बताइएको छ।

शो सङ्ख्याका आधारमा अनुमान गर्दा ‘महाजात्रा’ ले तेस्रो सातामा पनि आक्रामक व्यापार गर्ने देखिन्छ। ‘फिल्म हेर्न तीन पुस्ता नै हल आउनुभएको पाएँ। उहाँहरू आउँदा जति खुसी हुनुहुन्थ्यो, फर्किदा झनै खुसी देखिनुहुन्थ्यो। दर्शकलाई सन्तुष्ट पार्नु नै हाम्रो सफलता हो’, निर्माता म्याक्स दीपेश खत्रीले भनेका छन्,‘हामीले नेपालसँगै विदेशमा पनि उस्तै व्यवसाय भएको विवरण प्राप्त गरेका छौँ। प्रवासमा आयोजित शोहरू सोल्ड आउट भएको देख्दा हर्षित भएका छौँ।’

भारत बाहेकको फिल्म वितरणको अधिकार प्राप्त एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अस्ट्रेलियामा दुई सातामा ५७ शो भएको छ । यस्तै, अमेरिकामा ५० शो, न्युजिल्यान्डमा १२ शो, युरोप अन्तर्गतका देशमा ३५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भइसकेको छ। यी सबै शो सोल्ड आउट भएका थिए। मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्स अफिसमा प्रदर्शन भइरहेको छ। मलेसियामा ६० शो भइसकेको छ भने युनाइटेड अरब इमिरेट्समा दैनिक २० शो भइरहेको छ। अर्थात् नेपाल झैँ मध्यपूर्वका ठूला सिनेमा चेनहरू भक्स, स्टार, सिने रोयल, सिने पोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको छ।

चैत ९ गतेदेखि प्रदर्शनरत यो चलचित्र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्व रानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन्। प्रदीप भट्टराईले निर्देशन गरेको  यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu