चलचित्र ‘द रेड सुटकेस’ क्युएफएक्स हलमा नचलाइने, विभेद भएको आरोप



काठमाडौं। चैत ३० गते रिलिज हुने नेपाली चलचित्र नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएएक्समा नलगाइने भएको छ। निर्माता रामकृष्ण पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै शो सङ्ख्यामा विभेद भएको कारण चलचित्र नचलाउने निर्णय गरेको बताएका छन्।

समय समयमा यो मल्टिप्लेक्स चेनसँग शो सङ्ख्याको विषयलाई लिएर चलचित्रकर्मीको विवाद भइरहन्छ। पछिल्लो समय फागुन २५ गते उपयुक्त र पर्याप्त शो नदिएको भन्दै चलचित्र निर्माता सङ्घका अध्यक्ष कै चलचित्र दुई दिनमा उतारिएको थियो।

‘द रेड सुटकेस’का निर्माताले जारी गरेको विज्ञप्तिमा विश्व प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भई विश्वका अन्य प्रतिष्ठित फेस्टिभलमा पुरस्कृत समेत भएको चलचित्र द रेड सुटकेस नयाँ वर्षको अवसर पारेर नेपाली दर्शकबिच पनि प्रस्तुत गर्ने कुरालाई लिएर निर्माण पक्ष उत्साहित रहेको तर यो चलचित्रलाई क्युएफएक्सले बेवास्ता गर्दै नयाँ वर्षको अवसरमा रिलिज नगर्न र अर्को हप्ता सार्न भनेपछि आफूहरू दुःखी भएको जनाइएको छ।

“विदेशमा दर्शक तथा समीक्षकबाट  चलचित्रले राम्रै तारिफ पाए पनि हाम्रो लागि  घरेलु दर्शकको प्रतिक्रियाको बेग्लै अर्थ रहन्छ।  यही कारण पनि विदेशी वितरकको क्यालेन्डरसँग सामञ्जस्य मिलाउँदै हामीले चैत्र ३० गतेलाई प्रदर्शन मिति घोषणा गरेका हौँ। तर प्रदर्शनको सङ्घारमा देशको सबैभन्दा ठुलो सिनेमा चेन क्युएफएक्सले भने  ‘द रेड सुटकेस’ लाई अन्य देशी–विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने आशयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्युएफएक्स चेनमा चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेका छौँ” विज्ञप्तिमा भनिएको छ, “यो निर्णयले दर्शकमा पर्न जाने असुविधाप्रति हामी हृदयदेखि नै क्षमा चाहन्छौँ। योबाहेकका सिनेमा घरमा भने चलचित्र निर्धारित मितिमा नै प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ।”

यसअघि पनि यो चलचित्रको निर्माण कम्पनी आइसफल प्रोडक्सनले बनाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ माथि पनि विदेशी फिल्म सेन्सर नभएको झोकमा निर्धारित समयमा बुकिङ नखोली दुःख दिइएको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ, “कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको सूची लामो छ। चाडपर्व र बिदाका समयमा यस्ता फिल्मलाई प्रदर्शनको मौका नदिएर नजानिँदो गरी सिनेमा घरले फरक धारका फिल्म दर्शकको रुचिमा पर्दैनन् भन्ने भाष्य  निर्माण गरिरहेका छन्। हामी यस्ता असहिष्णु व्यवहारको भद्र अवज्ञा गर्न चाहन्छौँ।”

यो चलचित्रलाई युरोपका १५ मुलुकको ओटिटिको लागि एचबिओले अधिकार खरिद गरेको थियो। मध्यम तथा न्यून वर्गीय नेपाली समाजका युवाहरूको वर्तमान कथामा मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलचित्र बनेको छ। यसको प्राविधिक काम श्रीलङ्का र भारतमा गरिएको छ।

फिडेल देवकोटाले निर्देशन गरेको यो चलचित्रले विभिन्न महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अवार्डहरू जित्न सफल छ। चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा, सृष्टि श्रेष्ठ लगायतको प्रमुख भूमिका रहेको छ। सुशन प्रजापतिको छायाङ्कन र समन अलभितिगाको सम्पादन छ। जर्मनीबाट भिजुअल एन्थ्रोपोलपजी विषयमा विद्यावारिधि गरेका निर्देशक देवकोटाको यो पहिलो चलचित्र हो।

यो चलचित्र आइसफल प्रोडक्सनको प्रस्तुति, सिने संकिपासँगको सहकार्य र फिल्म काउन्सिल प्रोडक्शन्सको सह-निर्माणमा बनेको हो। रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको यस चलचित्रका सह-निर्माता श्रीलङ्काका विमुक्ति जयसुन्दरा हुन्। 

जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मले विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ। यो चलचित्रको नेपाल वितरक आरआर फिल्मस हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu