‘डिग्री माइला’को प्रिमियरमा प्रशंसा, दर्शकलाई कस्तो लाग्ला ?



काठमाडौं। नेपाली चलचित्र ‘डिग्री माइला’ शुक्रवार रिलिज भएको छ। रिलिजको पूर्व सन्ध्यामा रामबाबु गुरुङ निर्देशित यस चलचित्रको काठमाडौंको कमलपोखरीस्थित बिहीबार बिग मुभिजमा प्रिमियर शो आयोजना भएको थियो। सो प्रिमियरबाट यस चलचित्रले प्रशंसा बटुलेको छ।

प्रिमियर हेर्न नेपाली फिल्मकर्मी, कलाकार, पत्रकार तथा नेता बिग मुभीज पुगेका थिए। दयाहाङ राई र आँचल शर्माको प्रमुख भूमिका रहेको यो चलचित्रले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबिचको सङ्घर्षको कथा पेस गरेको छ।

चलचित्र हेरेपछि ‘जारी’मा दयाहाङको जोडी बनेकी अभिनेत्री मिरुना मगरले यो चलचित्र राम्रो बनेको प्रतिक्रिया दिइन्। उनले भनिन्, “मलाई चलचित्र एकदमै राम्रो लाग्यो। सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाहरूले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो।”

चलचित्रका अभिनेता राईले पुरै चलचित्र आफूले पनि पहिलो पटक हेरेको बताउँदै सबै कलाकारको अभिनय मन परेको बताए। “मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोसिस गरेँ। हामीले जो मेहनत गर्‍या छौँ, त्योचाहिँ छर्लङ्गै देखिन्छ”, उनले भने। अभिनेत्री आँचल शर्माले आफूलाई चलचित्र मन परेको बताइन्।

सङ्गीतकार चेतन सापकोटा, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता मुकुन भुसाल, सञ्चारकर्मी दिनेश डिसी, एमाले नेता एवम् सङ्घीय सांसद रघुजी पन्त, निर्देशक एवं कलाकार दीपाश्री निरौला, अभिनेता निर्मल शर्मा, कर्मा, नरेन खड्का, हास्य कलाकारहरू पवन भट्टराई(म्याकुरी), सुन्दर भट्टराई, विल्सन विक्रम राई लगायतले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिए।

शुक्रवार यो चलचित्र देशभर रिलिज भएको छ भने नेपाल बाहिरका केही मुलुकहरूमा समेत रिलिज भएको छ। प्रिमियरमा प्रशंसा पाएको यो चलचित्रले दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ, त्यो भने हेर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu