महाजात्राको महाव्यापार: पाँचौँ हप्तामा प्रवेश, विश्वभर २६ करोड ६५ लाख कलेक्सन



काठमाडौं। नेपाली ब्लकबस्टर चलचित्र ‘महाजात्रा’ले प्रदर्शनको पाँचौँ हप्ता सुरु गरेको छ। गत चैत ९ गतेदेखि निरन्तर प्रदर्शनरत यो चलचित्रको व्यापार पाँचौँ हप्तामा पनि उत्साहपूर्ण रहेको छ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख (पन्ध्र करोड नब्बे लाख) र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख (दश करोड पचहत्तर लाख) रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले बताए। सम्भवतः यो चलचित्र नै अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र हो।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा बलियो बनाउन सफल भएकोमा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताए। “महाजात्रामार्फत हामीले प्राप्त गरेको माया र शुभेच्छाले हामीलाई आउँदा दिनमा थप जिम्मेवार बनाएको छ। परिवारलाई एकसाथ हलसम्म ल्याएर खुसी बनाउन पाउँदा चलचित्रको व्यावसायिक सफलताको पाटो हाम्रो लागि सुनमा सुगन्ध झैँ भएको छ,” निर्माता खत्रीले भने।

अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले उपलब्ध गराएको तथ्याङ्कअनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अस्ट्रेलियामा ९० बढी शो, संयुक्त राज्य अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भइसकेको छ। यस्तै, अस्ट्रेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली चलचित्र ‘महाजात्रा’ बनेको छ। अप्रिल २१ सम्मको यसको कुल ३३ शो रिलिज तालिका रहेको छ। मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्स अफिसमा प्रदर्शन भइरहेको छ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्।

षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ चलचित्र दर्शक माझ ल्याउने घोषणा समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu