‘फर्की फर्की’का निर्देशक गुरुङ भन्छन्, ‘चलचित्र कपी गरिएको हल्ला सत्य होइन’



काठमाडौं। जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘फर्की फर्की’का निर्देशक सुयोग गुरुङले अङ्ग्रेजी चलचित्र ‘ग्राउन्डहग डे’बाट ‘फर्की फर्की’ कपी गरिएको हल्लाको खण्डन गरेका छन्। उनले चलचित्र कपी गरिएको भनेर बाहिर आइरहेको कुरा सत्य नरहेको स्पष्ट पारेका छन्।

सोमबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले भनेका छन्, “नेपालको लागि यो निकै नयाँ अवधारणा हो। फर्की फर्की चलचित्र ‘टाइम लुप’ स्टोरीमा बनेको छ। ‘ग्राउन्डहग डे’ पनि यो अवधारणामा बनेको पहिलो चलचित्र होइन तर, यो चलचित्रबाट नै ‘टाइम लुप’को अवधारणा चर्चित भयो र यही अवधारणामा आधारित हजारौँ चलचित्र बनेका छन्। कोरियन, जापनिज, बलिउड, साउथमा चलचित्र बनेका छन्।”

सुयोगले ‘टाइम लुप’ भनेको कथा नभएर आइडिया मात्र भएको जनाएका छन्। उनले यसलाई कथा वाचनको एउटा टुल मात्र रहेको र कोही पात्र ‘इन्फिनिटी लुप’मा ट्र्याप हुनुलाई टाइम लुप भनिने बताएका छन्। “‘ग्राउन्डहग डे’बाट सबै टाइम लुपका चलचित्रहरू बनेका हुन्। ‘फर्की फर्की’मा ग्राउन्डहग डेको बिल मुर्रे जस्तो मेरो लाइफ लुपमा अड्किरहेको छ भन्ने म्याडी पात्रको संवाद नै छ।”

उनले ‘फर्की फर्की’ ग्राउन्डहग डे को आइडियाबाट प्रभावित मात्र रहेको पुनः स्पष्ट पारेका छन् । यो आइडियामा नेपाली कथा कसरी भन्न सक्छु भन्ने आफ्नो पहिले देखि कै चाहना रहेको जुन अब पुरा हुन लागेको बताएका छन्। उनले सकारात्मक चर्चा भइरहेको बेलामा नकारात्मक कुराहरू नगरिदिन अनुरोध गरेका छन्। उनले चलचित्र हेरिसकेपछि साँच्चीकै कपी नै गरेको लाग्यो भने त्यति बेला भन्न आग्रह गरेका छन्।

अन्त्यमा उनले थपेका छन्, “हालको हाम्रो पुस्ताले आफ्नो शैलीमा कथा भन्नु निकै चुनौतीपूर्ण छ। कहीँ न कहीँ आइडिया मिलेको नै हुन्छ।”

यो चलचित्रमा मेगास्टार अनमोल केसी र अभिनेत्री जसिता गुरुङको प्रमुख अभिनय रहेको छ। यो चलचित्रको ट्रेलरले रिलिजको दुई दिनमा नै २० लाख भन्दा बढी युट्युब भ्युज पाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu