परिवर्तन नेपालद्वारा चेतन कार्की स्मृति पुरस्कार प्रदान, निशा घिमिरे स्मृति पुरस्कार पनि अर्पण



काठमाडौं। परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले संयुक्त रूपमा सम्मान तथा पुरस्कार कार्यक्रमको आयोजना गरी कलाकर्मीहरूलाई पुरस्कार प्रदान गरेका छन्।

चलचित्र निर्देशक दयाराम दाहाललाई निशा घिमिरे स्मृति सम्मान, चलचित्र निर्देशक आकाश अधिकारीलाई नगद रु. १५ हजार सहित चेतन कार्की स्मृति पुरस्कार प्रदान गरिएको थियो। नायिका तथा मोडल अनु शाहलाई नगद रु. २० हजार सहित निशा घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको थियो भने निशा घिमिरे स्मृति प्रतिभा पुरस्कारबाट मोडल तथा गायिका बबिता ढकाललाई नगद रु. २० हजार सहित पुरस्कार प्रदान गरिएको थियो। साथै, पत्रकार गीता अधिकारीलाई नगद रु. १० हजार सहित निशा घिमिरे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, पहिलो नेपाली चलचित्र आमाकी कलाकार द्वय वसुन्धरा भुसाल र चैत्य देवी, वरिष्ठ कलाकारहरू मिथिला शर्मा, शर्मिला मल्ल, सपना श्रेष्ठ, नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, निर्देशक तथा कलाकार दिपाश्री निरौला, निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहाल एवम् परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ चलचित्र लेखक तथा निर्देशक मोहन निरौला लगायतले पुरस्कार प्रदान गरे।

पुरस्कृत निर्देशक अधिकारीले आफ्नो जीवनमा पहिलो नगद राशि सहित पुरस्कार प्रदान गरिएकोमा परिवर्तन नेपाललाई धन्यवाद दिए। विशिष्ट चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले आफ्ना गुरुको नाममा चेतन कार्की स्मृति पुरस्कार राखेका हुन्। सो कार्यक्रममा दयाराम दाहालले आफूले प्राप्त गरेको सम्मानको लागी आयोजकलाई धन्यवाद दिँदै सरकारले कलाकर्मी एवम् चलचित्रकर्मीहरूको हितको लागी सामाजिक सुरक्षा कोषको निर्माण गर्नुपर्नेमा जोड दिए। अभिनेत्री अनु शाहले आफूले यो पुरस्कार ग्रहण गर्दा आफू निक्कै भावुक भएको र अभिनेत्री तथा मोडल निशा घिमिरेलाई स्मरण गरेको बताइन्।

अभिनेत्री मिथिला शर्माले नेपाली चलचित्रमा स्व. चेतन कार्कीको योगदानको चर्चा गर्दै साहित्य संस्कृति एवम् चलचित्र क्षेत्रको विकासको लागी उच्च योगदान दिएका एक धरोहर रहेको बताइन्। परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौलाले स्व. चेतन कार्कीको योगदानको चर्चा गर्दै त्यस्ता महान् व्यक्तिको नाममा पुरस्कार स्थापना गर्न पाउँदा आफूलाई खुसी लागेको बताए।

चेतन कार्की स्मृति पुरस्कार परिवर्तन नेपालद्वारा स्थापित हो भने निशा घिमिरे स्मृति पुरस्कार निशा घिमिरे स्मृति कोष द्वारा स्थापित हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu