पुरुष पात्रको मान्यतालाई तोड्दै रिलिज भयो ‘बोक्सीको घर’



काठमाडौं। अभिनेत्री केकी अधिकारीले निर्माण तथा अभिनय गरेको नेपाली चलचित्र ‘बोक्सीको घर’ रिलिज भएको छ। देशैभरका हलहरूले उल्लेख्य मात्रामा शो दिँदै यो चलचित्र रिलिज गरेका हुन्।

प्रमुख भूमिकामा कुनै पुरुष कलाकारले अभिनय नगरी त्यो चलचित्रले धेरै हल प्राप्त गर्दैन वा दर्शकले चलचित्र हेर्दैनन् भन्ने मान्यतालाई भत्काउँदै यो चलचित्रले देशभर झन्डै दुई सय शो प्राप्त गरेको छ। नेपाली चलचित्रको हकमा यो शो सङ्ख्यालाई अत्यन्तै सुखद मानिन्छ। यो चलचित्रको गीत ‘बुझिन मैले’ निकै चर्चित बनेको छ, जसको कारण चलचित्रलाई लिएर बेग्लै उत्साह पैदा भएको छ।

यस चलचित्रले हाम्रो समाजमा व्याप्त कथित बोक्सीको नाममा हुने महिला हिंसाको कथा र बालविवाहका कारण निम्तिएको कहालीलाग्दो कथालाई देखाएको छ। यसको प्रमुख भूमिकामा केकीको अभिनय छ भने केकीको बाल्यावस्थाको भूमिकामा बाल कलाकार सुपला सापकोटाले अभिनय गरेकी छन्। गत बुधवार भएको प्रिमियर शो बाट बाल कलाकार सुपलाले तारिफ पाएकी छन्। उनी कलाकार भोलाराज सापकोटाकी छोरी हुन्। साथै, अर्की कलाकार सेबिता अधिकारीले पनि निकै तारिफ पाएकी छन्। सेबिताले केकीले अभिनय गरेको ‘जुना’ पात्रको आमाको भूमिका निभाएकी छन्।

यस चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ। यसमा उनी स्वयं केकीको श्रीमानको भूमिकामा प्रस्तुत छन्। रमा थपलिया, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सेबिता अधिकारी आदिको पनि अभिनय रहेको फिल्ममा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu