काठमाडौं। नेपाली चलचित्रको लागि दोस्रो ठुलो बजार बनेको अस्ट्रेलियाको सिड्नी सहरमा नेपाली चलचित्र ‘महाजात्रा’ले कीर्तिमान कायम गरेको बताइएको छ। यसअगाडि ‘जात्रै जात्रा’ ले बनाएको २७ शो र ‘कबड्डी ४’ ले बनाएको २९ शोको रेकर्ड तोड्दै ३५ शो सम्पन्न भएसँगै ‘महाजात्रा’ ले नयाँ रेकर्ड बनाएको डायस्पोरा वितरक कम्पनी एमएसएम इन्टरटेनमेन्टस् र सिड्नीमा प्रदर्शन गरिरहेको रोटेपिङले चलचित्रले जनाएको छ।
सिड्नी प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार चलचित्रको माग अझै छ। ‘सिड्नीमा अघिल्लो सबै रेकर्ड आजदेखि तोडेको छ। महाजात्राले सिड्नी मात्र नभई अस्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने छ। पछिल्लो समय खडेरी झैँ भएको बजारलाई हराभरा बनाउन चलचित्रको भूमिका प्रशंसनीय छ’, भट्टराईले भने।
डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार सिड्नीमा मात्र नभई अमेरिका, क्यानडा, युरोप अन्तर्गतका देशहरू, मध्यपूर्वका देशहरू, बेलायतलगायतका देशमा समेत नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। उक्त कम्पनीका अनुसार एघार करोड बढीको व्यापार भारत बाहेकका डायस्पोरामा भएको छ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालमा छैटौँ सातामा विश्वभर प्रदर्शन भइरहेको छ। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले नेपालमा सोह्र करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ
यस चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।