काठमाडौं। गत शुक्रवार साता रिलिज भएको नेपाली चलचित्र ‘बोक्सीको घर’ले बुधवार सम्ममा झन्डै साढे पाँच करोडको ग्रस कलेक्सन गरेको छ। यसबारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वितरक संस्था डिसिएनका अध्यक्ष अशोक शर्माले बुधवार सम्म ५ करोड ४५ लाख ग्रस कलेक्सन गरेको बताए।
यस चलचित्रले रिलिजको पहिलो दुई दिनमा झन्डै साढे २ करोड ग्रस कलेक्सन गरेको थियो। शर्माले काठमाडौँ र काठमाडौँ बाहिर लगभग बराबर व्यापार गरेको जनाए। बुधवार मात्र १ करोड माथिको व्यापार गरेको उनले दाबी गरे। शर्माका अनुसार चलचित्र हलमा नब्बे प्रतिशत दर्शक महिला रहेका छन्। उनले महिला वर्गलाई यस चलचित्रले प्रभावित पारेको बताउँदै लामो समयसम्म चलिरहने सम्भावना रहेको बताए।
निर्माता तथा अभिनेत्री केकी अधिकारीले यो चलचित्रको सिक्वेल बन्ने खुलासा गरिन्। दुई दिन अघिदेखि नै हलमा चलिरहेको चलचित्रमा ‘टु बि कन्टिन्यू’ लेखिएको जनाउँदै उनले अब अर्को भागको तयारीमा रहेको बताइन्। आफूले पहिले देखि नै यो चलचित्र सफल रहेमा दोस्रो भाग बनाउने योजना बनाएको बताइन्।
यो चलचित्रको चर्चित गीत ‘बुझिन मैले’को चर्चासँगै चलचित्रप्रति दर्शकको चासो बढेको थियो। यस चलचित्रले हाम्रो समाजमा व्याप्त कथित बोक्सीको नाममा हुने महिला हिंसाको कथा र बालविवाहका कारण निम्तिएको कहालीलाग्दो कथालाई देखाएको छ। यसको प्रमुख भूमिकामा केकीको अभिनय छ भने केकीको बाल्यावस्थाको भूमिकामा बाल कलाकार सुपला सापकोटाले अभिनय गरेकी छन्।
यस चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ। यसमा उनी स्वयं केकीको श्रीमानको भूमिकामा प्रस्तुत छन्। रमा थपलिया, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सेबिता अधिकारी आदिको पनि अभिनय रहेको फिल्ममा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता हुन्।