काठमाडौं। भुटानका चर्चित कलाकार साङ्गे सेल्ट्रिमले चलचित्र ‘ऐरी’मा काम गर्ने भएका छन्। बुधवार चलचित्रका निर्देशक जीवन थापा र साङ्गेबिच काठमाडौंमा औपचारिक सम्झौता भएको छ।
यस महत्त्वाकाङ्क्षी चलचित्रमा अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहने छ। साङ्गेको महत्त्वपूर्ण भूमिका रहने निर्देशक थापाले बताए। साङ्गेले नेपाली चलचित्रमा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन्। साङ्गेले शाहरूख खानको पछिल्लो चलचित्र ‘जवान’मा काम गरेका थिए।
“मैले यो चलचित्रमा काम गर्नुको मुख्य कारण यसको कथावस्तु हो। यसको कथावस्तु ऐतिहासिक छ। साथमा, मलाई सधैँ नै योद्धाको कथामा काम गर्न मन थियो। यसैले, यो चलचित्रबाट मेरो सपना पुरा हुँदै छ,” बलिउड र नेपाली फिल्म क्षेत्रको सहकार्य हुन लागेकोले उत्साहित रहेको जनाउँदै साङ्गेले बताए। उनले नेपाल र भुटानको सम्बन्धलाई अझै उचाइमा लैजानका लागि पनि आफूले भूमिका खेल्ने जनाए।
यसको हाल प्रि प्रोडक्शनको काम चलिरहेको छ। नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषाहरूमा पनि यो चलचित्र रिलिज हुनेछ। सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले संयुक्त रूपमा चलचित्र निर्माण गर्न लागेका हुन्।