
काठमाडौं। २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाजात्रा’ शनिवार ५१औँ दिनमा प्रवेश गरेको छ। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले सिरिजकै रूपमा निर्माण गरेको यो चलचित्रले पनि अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गरेको हो।
यसले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगन्जमा रहेको सिनेरोयलमा ५१ औँ दिनको यात्रा पार गरेको हो।
‘हामीलाई यो सफलताले अझैँ दायित्व बोध भएको छ। आगामी दिनमा दर्शकको भरोसालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्ने छौँ। षट्कोण आर्ट्समार्फत हामी आगामी दिनमा पनि स–परिवार एकसाथ हेर्न मिल्ने फिल्म ल्याउने छौँ’, चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले बताए।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन बनेको यस चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका यस चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।
अन्तर्राष्ट्रिय बजारमा समेत सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको यो चलचित्रले ५१ दिनमा पुग्दा घरेलु बजारमा कति व्यापार गर्यो त ? यसबारेमा जानकारी दिन शनिवार दिउसो एक कार्यक्रमको आयोजना गरिएको छ। (यसबारेमा जानकारीको लागि ठुलोपर्दा सँगै रहनुहोला)