
काठमाडौं। निर्माणाधीन चलचित्र ‘बलिदान’मा व्यस्त रहेका निर्माता तथा निर्देशक सन्तोष सेनले अभिनेता अनमोल केसीलाई लिएर नयाँ चलचित्र बनाउने भएका छन्। आइतबार यसबारेमा खुलासा गर्दै सेनले इतिहासको वास्तविक घटनामा आधारित रहेर चलचित्र बनाउन लागेको र सो चलचित्रमा केसीको प्रमुख भूमिका रहने स्पष्ट पारे।
अनमोलसँगको समझदारीबारे ठुलोपर्दासँगको कुराकानीमा सेनले भने, “हामी अलिकति अगाडी देखी नै काम गर्ने योजनामा थियौँ तर, कहिले के नमिलेको कहिले के नमिलेको भइरहेको थियो। अहिले हामी दुवै तर्फबाट बनिरहेका प्रोजेक्टहरू ल्यान्डिङ गरेर नयाँ चलचित्र सुरु गर्ने समझदारी गरेका छौँ। सेनले आफूले अघिल्लो चलचित्र ‘प्रेम गीत ३’लाई पनि केही ‘पिरियडिक’ बनाउने कोसिस गरेको बताउँदै इतिहासको वास्तविक घटनामा आधारित रहेर चलचित्र बनाउने इच्छा अनुरूप ‘प्रेम गीत ३’को अनुभवलाई लिएर र कमी कमजोरी सुधारेर काम गरौँ भनेर अनमोलसँग छलफल भएको बताए। उनले थपे, “हामी दुवैले जिरो बाट नै काम सुरुवात गरौँ भनेर अगाडी बढेका छौँ।”
सन्तोष आफैले निर्देशन गर्ने या नगर्ने भन्नेबारे टुङ्गो लागेको छैन। यस विषयमा सेनले अवस्थाअनुसार निर्णय लिने योजनामा रहेको बताएका छन्। नेपाल र तिब्बतबिच वि.सं. १८५५ देखि १८५६ सम्म भएको युद्धका एक नेपाली सिपाहीले गरेको सङ्घर्ष र सफलताको कथा यस चलचित्रमा प्रस्तुत गरिने सेनले जनाए।