‘गाउँ आएको बाटो’बाट सुरु हुने नेपाल अमेरिका चलचित्र महोत्सव ‘द रेड सुटकेस’बाट सकिने



काठमाडौं। नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर तय भएको छ। आगामी जुन २० मा यसको स्क्रिनिङ हुने जनाइएको छ। त्यस्तै, फेस्टिभल समापन चलचित्रको रूपमा फिडेल देवकोटाले निर्देशन गरेको ‘द रेड सुटकेस’ स्क्रिनिङ हुने बताइएको छ।

सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फेस्टिभलमा सहभागिता जनाइसकेको छ। नेपाल र डायस्पोरा रिलिज चाहिँ जेठ २५ गते (जुन ७)मा हुँदै छ । यसमा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ। गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा यसमा छ।

भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको ‘द रेड सुटकेस’ नेपालमा गत चैत ३० गते रिलिज भएको थियो। यसमा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा र सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ। यसले वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गरेको छ।

फेस्टिभलको पूर्ण लाइन–अप भने चाँडै सार्वजनिक गर्ने आयोजक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले जानकारी दिए। यस वर्षको संस्करण जुन २० देखि २३ (असार ६ देखि ९)सम्म आयोजना हुँदै छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu