चर्चित कथा वाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र बन्दै, आफ्नै कार्यक्रममा गरे घोषणा



काठमाडौं। चर्चित कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही चलचित्र बन्ने भएको छ। शनिवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले यो चलचित्रको घोषणा गरे।

यो चलचित्रलाई शिशिर खातीले निर्देशन गर्ने र यसअघि चलचित्र ‘रङ्गेली’ बनाएको कम्पनी प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने तय भएको छ। कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन्। चलचित्रको घोषणा गर्दा यसको थिम पोस्टर पनि सार्वजनिक गरिएको थियो। यस चलचित्रको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ। साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो नोभेल ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ। यसलाई अडियो सुन्ने अन्य प्लेटफर्महरूमा समेत लाखौँ पटक सुनिएको छ।

एक हजार बढी दर्शकमाझ आयोजित कार्यक्रममा चलचित्र घोषणा अघि साइग्रेसले आफ्नो जीवन कथालाई फोटो प्रस्तुतिमार्फत देखाएका थिए। उनले जीवनको एक कालमा भएको प्रेमबारे आफूले यो अडियो नोभेल तयार पारेको बताए। उनले यो नोभेलमा आधारित रहेर सुजन चापागाईँ र उनको टिमले गीत तयार पार्ने घोषणा समेत गरे। तर सो गीत भने चलचित्रमा हुनेछैन।

आफ्नो कथामा चलचित्र बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै साइग्रेसले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको बताए। “यो सम्भव भएको पनि तपाईँकै कारणले हो। म केही छु भने यो तपाईँको प्रेमले हो। यो चलचित्र बन्नु लाग्नुको कारण पनि तपाईँ नै हो,” उनले भने, “मलाई शिशिरले भेटेर तपाईँको अधुरो प्रेम साह्रै नै मन पर्छ, म लैजान चाहन्छु भन्नुभयो। मलाई साह्रै नै डर लाग्यो। त्यो मेरो मुटुको सबैभन्दा नजिकको कथा, बरु अर्को दिन्छु नि भनेँ। उहाँले हुँदैन भन्दै ‘मलाई त्यही कथा चाहिन्छ, मलाई जुन काममा चुनौती हुन्छ त्यही गर्न चाहन्छु भन्नुभयो।’ मलाई अझै पनि डर थियो, मैले पाँच पटकको भेटपछि मात्र कथा दिएँ। अब तपाईँको प्रेमले सफल हुनेछ।”

पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए। “मैले लगातार सात-आठ महिना देखी चलचित्रको विषयलाई लिएर पिछा गरिरहेको थिएँ। धेरै पटक उहाँलाई भन्ने कोसिस गरेँ, तर सकिन। एक दिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएर उहाँलाई भेटाइदिन आग्रह गरेँ। भेटपछि मेरो सबै कुरा राखेँ, उहाँले मान्नुभयो। म आज तपाईँसामु जसरी बोलिरहेको छु, २०८२ सालमा चलचित्र रिलिज पछि पनि बोल्ने हिम्मत हुने गरी चलचित्र बनाउनेछु,” शिशिरले भने। साइग्रेसले अधुरो प्रेम दर्शकको सम्पत्ति रहेकोले जतनसाथ रक्षा गरिदिन शिशिरलाई आग्रह गरे। साइग्रेस आफ्नो बुलन्द आवाज र कथा वाचनको शैलीमार्फत संसारभर रहेका करोडौँ नेपालीहरू माझ चर्चित छन्।

शिशिरले दर्जनौँ म्युजिक भिडियोहरू र चलचित्रका गीतमा कोरियोग्राफी गरेका छन्। कार्यकारी निर्माता सुवेदीले यसअघि चलचित्र ‘रङ्गेली’ निर्देशन गरेका थिए। वि.सं. २०८२ मा रिलिज लक्ष्य राखिएको यस चलचित्रमा कलाकार र अन्य टिमको विषयमा भने टुङ्गो लागिसकेको छैन। चलचित्रका निर्माण नियन्त्रक मनोज जोशी हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu