काठमाडौं। आगामी श्रावण ४ गते रिलिज हुने नेपाली चलचित्र ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा प्रमुख कलाकारहरू मलिका महत, हर्षिका ओली र मञ्जिला बानियाँ रहेका छन्।
लक्ष्मण सुवेदीले निर्देशन गरेको ‘सतीदेवी’को शीर्ष भूमिकामा रहेकी महतले नवजात शिशुलाई स्तनपान गराइरहेकी छिन्। उनका आँखाबाट आँसु झरिरहेका छन्। यसको फस्ट लुकमा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरूले लखेटी रहेका थिए, यसमा भने उनी रुँदै स्तनपान गराइरहेकी छिन्। यो पोस्टरले यो चलचित्रमा उनी आमाको भूमिकामा छन् भन्ने जनाएको छ।

पोस्टरमा मलिका सँगै दुई बाल कलाकार हर्षिका र मञ्जिला रोइरहेका छन्। हर्षिका हातमा चप्पल समातेर विक्षिप्त अवस्थामा देखिएकी छन् भने बरर आँसु झारेकी मञ्जिलाको हातमा सानो हाँगा छ, फैलिएको हाँगो माथि एउटा पुतली उड्दै छ। यसले छोरीहरू स्वतन्त्र उडान गर्न चाहन्छन् भन्ने सङ्केत गरेको छ। पोस्टरमा ‘छोरी पुजौँ, छोरी बुझौँ, यिनै संसार सारा…’ भन्ने वाक्यांश उल्लेख गरिएको छ।
यो चलचित्र सौराह दक्षिण एसियाली फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट चलचित्र, र निर्देशक एवम् तेस्रो नेपाल ग्रामीण फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट लेखन र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितिसकेको छ।