‘पुजार सार्की’ अभिनेत्री अञ्जना बराइली ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित



काठमाडौं। सफलताका साथ दोस्रो हप्ता प्रवेश गरेको नेपाली चलचित्र ‘पुजार सार्की’की अभिनेत्री अञ्जना बराइलीले निर्माणको लागि तयारी अवस्थामा रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अनुबन्धित भएकी छन्। उनले सो चलचित्रमा प्रमुख भूमिकामा अभिनय गर्नेछिन्।

बुधवार निर्माण टिमले एक पोस्टरमार्फत उनी यस चलचित्रमा अनुबन्ध भएको जानकारी गराएको छ। यसमा यसअघि अभिनेता द्वय प्रकाश सपूत र मुकुन भुसाल अनुबन्ध भैसकेका छन्। उनीहरूमध्ये एक जनाको जोडीको रूपमा अञ्जना प्रस्तुत हुने जनाइएको छ। यसमा विनोद न्यौपाने, भोलाराज सापकोटा, देशभक्त खनाल लगायतको पनि अभिनय रहने बताइएको छ।

यो चलचित्रमा महेश दवाडीले पटकथा तथा संवाद लेखेका छन्। यसको कथा भने यसका निर्देशक सरोज पौडेलको नै हो। यस चलचित्रमा गाउँ गाउँ सारङ्गी बजाउँदै गीत गाउँदै डुलिहिँड्ने गन्धर्वको कथा देखाइने छ। चलचित्रका लेखक दवाडीले सारङ्गीबाट समाजलाई सुसूचित र मनोरञ्जन प्रदान गर्ने एक पात्र पूर्णबहादुरको आँखाबाट बदलिँदो समाजको आयामलाई केलाउने जमर्को गरेको बताए।

चलचित्रलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहेको सेभेन सीज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो। यसमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रूपमा छन् भने रमेश चौलागाईँ र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। यस चलचित्रका गीतहरूमा प्रशान्त सिवाकोटीले सङ्गीत दिनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu