क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्: राजेन्द्र लिङ्देन



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र लिङ्देनले नेपाली चलचित्र ‘पुजार सार्की’ विभेद अन्त्यको नाममा देशलाई द्वन्द्वमा लैजानेहरूलाई हेर्न आग्रह गरेका छन्। शुक्रवार चलचित्र हेरेपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै लिङ्देनले क्रान्तिकारीहरूले एक पटक हेरेर आफूलाई समीक्षा गर्न अनुरोध गरेका हुन्।

“समाजमा छुवाछूत र विभेद छ। पहिले त्यसको समाधान शस्त्र हो भन्ने भाष्य बन्यो, त्यसले देशले लामो द्वन्द्व र क्षति बेहोर्नु पर्‍यो। त्यो समाधान होइन है भन्ने पनि यो चलचित्रले सन्देश दिएको छ,” उनले भने, “खास गरी क्रान्तिकारी महानुभावहरू जसले देशलाई विभेद अन्त्यको नाममा द्वन्द्वमा लानुभयो, एक पटक हेरेर आफूलाई समीक्षा गर्न अनुरोध गर्दछु।”

उनले यो चलचित्र शिक्षामूलक भएकोले सबैले हेर्नुपर्ने बताए। “अघिल्लो पुस्ता र मेरो पुस्तासम्मले देखेको सामाजिक विभेदलाई यसले स्मरण गराउँछ र हामीले कसरी सुधार गर्नुपर्दछ भन्ने देखाउँछ। हामी भन्दा पछिल्लो पुस्ताले समाज कसरी अगाडि आइरहेको छ, कसरी परिवर्तित भइराखेको छ र समाजमा कस्ता प्रकारका समस्याहरू थिए। त्यसको समाधान के हो त ? भन्ने पनि यसमा रहेको छ,” लिङ्देनले बताए।

चलचित्रका लेखक विकास सुवेदीले राजनीतिक स्तरबाट नै गलत भाष्यहरूलाई निर्मूल पार्दै जाने कुरामा लिङ्देनले प्रतिबद्धता जनाएको बताए। सुवेदीले भने, “चलचित्र हेरेपश्चात् मसँग कुरा गर्दै उहाँले विभिन्न धर्मशास्त्रमा उल्लेख छुवाछूत सम्बन्धी गलत भाष्यहरूलाई क्रमशः सच्याउँदै लैजानु पर्ने विचार राख्नुभएको छ। आफ्नो दलको मुख्य मुद्दा नै धार्मिक बनाउनु भएका उहाँले शास्त्रबाटै सच्याउँदै जानुपर्ने विचार राख्नु आफैमा हामीले चलचित्रमार्फत दिन खोजेको सन्देशले मूर्तरूप पाउँदै जानु हो।”

गत जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’ सफलतापूर्वक चौथो हप्तामा प्रदर्शन भइरहेको छ। विदेशमा पनि यो चलचित्रले आक्रामक व्यापार गरिरहेको छ। सुवास भुसालको निर्माण तथा दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu