
काठमाडौं। दिवस फिल्म प्रोडक्सनको ब्यानरमा नेपाली कथानक चलचित्र ‘ज्ञान शास्त्र’ बन्ने भएको छ। दिनेश कुँवरले निर्देशन गर्ने यो चलचित्रबाट मोडल स्मारिका ढकालले चलचित्र डेब्यु गर्दैछिन्।
शिक्षा क्षेत्रमा देखिएका समस्याहरू र राजनीतिक प्रभावलाई उजागर गर्ने उद्देश्यले निर्माण गर्न लागिएको यस चलचित्रमा ढकालको प्रमुख भूमिका रहनेछ, जहाँ उनले समीर खान र पूर्णिमा थापासँग स्क्रिन सेयर गर्नेछिन्। स्मारिका टिकटकबाट आफ्नो करियर सुरु गरेकी एक सफल मोडल हुन् र सयौँ म्युजिक भिडियोहरूमा आफ्नो अभिनय कौशल देखाइसकेकी छिन्।
चलचित्रमा सुशील पोख्रेल, सुरवीर पण्डित, सुवास गजुरेल, श्याम राई, रवीन्द्र झा लगायतका कलाकारहरूको पनि भूमिका रहेको छ। यो चलचित्र विकास बराल र प्रेम बहादुर श्रेष्ठको संयुक्त लगानीमा बन्नेछ भने आभास रानाले चलचित्रको कथा लेखेका छन्।
चलचित्रको छायाङ्कन चितवनका ग्रामीण र सहरी क्षेत्रहरूमा गरिने योजना रहेको छ। निर्देशक कुँवरले दसैँ अगाडि छायाङ्कन सम्पन्न गर्ने लक्ष्य राखेका छन्। यस चलचित्रलाई विष्णु परियारले छायाङ्कन गर्नेछन् भने गीत सङ्गीतको जिम्मेवारी शिव के परियारले लिनेछन्।
छायाङ्कन भाद्र २३ गतेबाट शुभ मुहूर्तसँगै सुरु हुने जनाइएको छ।






