काठमाडौं। बिहीबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ। यो चलचित्र असोज १७ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ।
ट्रेलरले ३० वर्ष पुगेकी युवतीको मागी विवाहको प्रयास र असफलताको कथा प्रस्तुत गर्छ। ट्रेलरको अन्त्यमा मुख्य अभिनेत्री स्वस्तिमा खड्का ट्र्याक्टर चलाएर भागेकी देखिन्छिन्। उनी आफूसँग विवाहको प्रस्ताव लिएर आउने कसैसँग पनि बिहे नगर्ने निर्णय गर्दै भागेकी हुन्। ट्रेलरबाट यो चलचित्र हास्य-सामाजिक श्रेणीमा बनेको अनुमान गर्न सकिन्छ।
‘बेहुली फ्रम मेघौली’ ब्ल्याक हर्ष पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको हो। यसमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, भोला सापकोटा, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मीको अभिनय रहेको छ।
चलचित्रको लेखन तथा निर्देशन साजन काफ्ले र आकाश बरालले गरेका छन्। यो उनीहरूको पहिलो निर्देशकिय काम हो। स्वस्तिमा खड्कालाई निर्माणमा उनका पति निश्चल बस्नेतले सघाएका छन्। कार्यकारी निर्मातामा फिरोज खड्का र शङ्कर पाण्डे रहेका छन्। चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन्।
ट्रेलर: