
काठमाडौं – लोकप्रिय गायक तथा संगीतकार सुजन चापागाईँले पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो प्राइभेट मेसेज बाहिरिएको विषयलाई लिएर स्पष्टीकरण दिँदै अन्तरहृदयदेखि माफी मागेका छन्। केही दिनयता सामाजिक सञ्जालमा उनीसँग सम्बन्धित मेसेजका स्क्रिनसटहरू सार्वजनिक भएपछि सिर्जित विवाद र डिजिटल बहसको बीच उनले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।
आफ्नो गल्ती र वर्तमान परिस्थितिबारे स्पष्ट पार्दै गायक चापागाईँले लेखेका छन्, “विगतमा मसँग निकट सम्बन्धमा रहेका अनि मैले नजिक ठानेका साथीहरूसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य हो।” सोही संवादका कारण उत्पन्न दुःखद परिस्थितिका लागि आफू चिन्तित र दुःखी भएको भन्दै उनले सार्वजनिक रूपमा क्षमा याचना गरेका छन्।

विगतका केही संवादहरू सत्य भए तापनि सामाजिक सञ्जालमा आएका सबै सामग्रीहरूबारे आफू पूर्ण रूपमा अनभिज्ञ रहेको सुजनको दाबी छ। आफ्नो व्यस्तताका कारण सामाजिक सञ्जाल आफैँले मात्र ह्यान्डल गर्न असम्भव हुने भएकाले विभिन्न समयमा सोसियल मिडिया म्यानेजमेन्ट टोलीले व्यवस्थापन गर्ने गरेको उनले खुलाएका छन्। सोही व्यवस्थापनको समयमा अकाउन्टको दुरुपयोग भएको हुन सक्ने उनको प्राथमिक अनुमान छ। यसका साथै आफ्नो नाममा धेरै फेक अकाउन्टहरू सक्रिय रहेको जानकारी समेत उनले दिएका छन्।
यस्ता अनुत्तरदायी र भ्रामक हर्कतका विरुद्ध आफूले आवश्यक छानबिन प्रक्रिया सुरु गरिसकेको गायक चापागाईँले स्पष्ट पारेका छन्। हाल सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलियामा रहेका उनी, आफ्नो अस्ट्रेलिया सांगीतिक यात्रा सकिने बित्तिकै नेपाल फर्किएर कानुनी उपचारमा जाने तयारीमा छन्।
आफ्नो बदनियत नहुँदा नहुँदै पनि शुभचिन्तक तथा सम्बन्धित पक्षले बेहोर्नु परेको समस्या र चोटप्रति उनले अन्त्यमा पुनः दुख व्यक्त गरेका छन्। ‘काफ्ले’, ‘चाइनेजो’, ‘घुमी घुमी’, ‘तीनपाते’, ‘बाफ’, र ‘गाला पुक्का’ जस्ता चर्चित गीतहरूका कारण युवा पुस्तामाझ निकै लोकप्रिय छन्।


