काठमाडौं। अभिनेता बिराज भट्टको निर्देशनमा बनेको चलचित्र ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार सार्वजनिक भएको ट्रेलरको लम्बाई ३ मिनेट १४ सेकेन्ड रहेको छ, जसमा प्रमुख अभिनेता बिराज भट्ट र उनका छोरा समीर भट्टको दमदार एक्सन देख्न सकिन्छ । यो चलचित्र आगामी असोज २४ गते फूलपातीको दिन रिलिज हुनेछ ।
ट्रेलरमा बिराज र समीरको सङ्घर्षको कथा प्रस्तुत गरिएको छ, जसमा उनीहरू अत्याचारी पात्र मुरलीधरको साम्राज्य ध्वस्त पार्न लागि परेका छन् । एक्सनले भरिएको ट्रेलरमा प्रेम र पीडाको सम्मिश्रणले दर्शकलाई भावनात्मक रूपमा पनि जोड्न खोजिएको छ । बिराज भट्टलाई ट्रेलरमा बाघको रूपमा चित्रण गरिएको छ भने समीर भट्ट ‘सिक्स प्याक एब्स’ देखाउँदै प्रस्तुत छन्, जसले दर्शकमा थप आकर्षण जगाएको छ । यो चलचित्रमा पहिलो पटक बिराज र समीरले एकसाथ काम गरेका कारण यसप्रति दर्शकको उत्सुकता बढेको छ।
चलचित्रमा बिराज र समीरसँगै न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा जस्ता कलाकारहरूले अभिनय गरेका छन् ।
चलचित्रको छायाङ्कन महेश पौडेलले गरेका हुन् भने अर्जुन पोखरेल र नीरज सिंहको सङ्गीत रहेको छ । रामजी लामिछाने र सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका छन्, भने सम्पादन प्रवीण केएल र भूपेन्द्र अधिकारीले गरेका छन् । कथाको लेखन स्वयम् बिराज भट्टले गरेका हुन्, र पटकथा तथा संवाद सन्तोष सरकारले तयार पारेका छन् ।
चलचित्रको द्वन्द्व निर्देशन दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भाले गरेका छन्, जसले ५० भन्दा बढी साउथ चलचित्रहरूमा काम गरिसकेका छन् ।
ट्रेलर: