काठमाडौं – नेपाली चलचित्र ‘मिसिङ: केटी हराएको सूचना’ को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी माघ ११ गते, अर्थात् जनवरी २४, २०२५ मा प्रदर्शनमा आउनेछ ।
यसअघि कात्तिक ३० गते (नोभेम्बर १५, २०२४) मा प्रदर्शन गर्ने योजना रहेको यो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले दर्शकबाट अभूतपूर्व साथ पाएको कारण स्थगित गरिएको थियो ।
‘मिसिङ: केटी हराएको सूचना’ लाई निर्देशक दीपेन्द्र गौचनले झन्डै ३२ वर्षपछि निर्देशन गरेका हुन् । चलचित्रमा पहाडी समुदायका युवक र मधेसी समुदायकी युवतीको रहनसहन तथा मेलमिलापको कथा प्रस्तुत गरिएको छ ।
यस चलचित्रको प्रमुख भूमिकामा नाजिर हुसेन र सृष्टि श्रेष्ठ रहेका छन् । अन्य कलाकारहरूमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल लगायतका छन् ।