
काठमाडौं – सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत जस्ता चर्चित स्टारहरूको मुख्य भूमिका रहेको बहुप्रतिक्षित चलचित्र ‘परालको आगो’को देशव्यापी अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। आगामी शुक्रबार अर्थात् वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रप्रति दर्शकको उच्च क्रेज देखिएपछि देशभरका सिनेमा हलहरूले उल्लेख्य शो प्रदान गरेका छन्। सोमबार केही सीमित हलहरूबाट मात्र सुरु भएको बुकिङ बुधबार बिहानदेखि भने देशव्यापी रूपमा उत्साहजनक ढंगले अघि बढेको छ।
चलचित्रको सार्वजनिक ट्रेलर र सुमधुर गीतसंगीतले दर्शकमाझ निर्माण गरेको जबर्जस्त हाइपको प्रभावस्वरूप यसले रिलिज अगावै देशभर १०० भन्दा बढी शो प्राप्त गरिसकेको छ। सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (सबै उमेर समूहले हेर्न मिल्ने) प्रमाणपत्र पाएको १३५ मिनेट लामो यस चलचित्रको शो संख्या हलवालाहरूको उत्साहसँगै अझै बढ्ने प्रक्षेपण गरिएको छ।
नेपाली साहित्यका विशिष्ट कथाकार गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’बाट प्रभावित यस चलचित्रमा सुहाना, सौगात र प्रकाशका अलवा सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार मन्जिला बानियाँको सशक्त अभिनय देख्न सकिन्छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस प्रोजेक्टमा सुशील पोखरेलको लगानी रहेको छ भने सुलभी पोखरेल र सत्यम पोखरेलले निर्माण गरेका हुन्। चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले तयार पारेका हुन्। शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको संगीत रहेको यस चलचित्रका गीतहरूमा मनबहादुर मुखिया, सुरेन्द्र राना र स्वयं प्रकाश सपुतले शब्द भरेका छन्।
त्यस्तै, चलचित्रको पाश्र्व संगीत किरण तुलाधरले सम्हालेका छन् भने भिएफएक्सको जिम्मा समिर मिया र सत्यम रानाले तथा टिजर र ट्रेलर सम्पादन साहिल खानले गरेका छन्। आर आर फिल्म्सले नेपालभर वितरण गर्ने जिम्मा लिएको यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा बजारमा देखिएको उत्साहजनक चर्चा र दर्शकको पखाईले निर्माता सुशील पोखरेल चलचित्रको उत्कृष्ट व्यापार हुनेमा निकै विश्वस्त देखिएका छन्।




