‘जेरी : द लास्ट क्लाइम्ब’को कमान्ड सुयोगकै हातमा, पारिश्रमिक स्वरूप बुझे ७२ लाखको विलासी कार



काठमाडौं – अनमोल केसीको मुख्य भूमिका रहने चलचित्र ‘जेरी : द लास्ट क्लाइम्ब’ को निर्देशन सुयोग गुरुङले नै गर्ने निश्चित भएको छ। बुधबार निर्माता सरोज न्यौपाने र निर्देशक गुरुङबीच यस विषयमा औपचारिक सम्झौता सम्पन्न भएसँगै फिल्मको नेतृत्व सुयोगले नै सम्हाल्ने पक्का भएको हो। गत साता मात्रै निर्माण पक्षले यस चलचित्रको शीर्ष भूमिकामा अभिनेता केसीलाई नै निरन्तरता दिने निर्णय सार्वजनिक गरेको थियो।

यसपटक निर्देशक गुरुङको पारिश्रमिक निकै रोचक र चर्चाको विषय बनेको छ। दोस्रो शृङ्खलाको निर्देशनको जिम्मा पाएसँगै उनले पारिश्रमिक बापत ७२ लाख रुपैयाँ बजार मूल्य रहेको ‘लिप मोटर्स’को ‘सी टेन’ मोडलको कार प्राप्त गरेका छन्। एक संक्षिप्त कार्यक्रमका बीच उनले उक्त गाडी बुझेका हुन्। यस विषयमा प्रस्ट पार्दै निर्माता न्यौपानेले गाडी कुनै उपहार नभई निर्देशकको पारिश्रमिक नै भएको बताएका छन्। सुयोगको क्षमता र मिहिनेतलाई मूल्यांकन गर्दा उनी यो गाडीभन्दा अझ माथिल्लो स्तरको पारिश्रमिकको हकदार रहेको न्यौपानेको भनाइ छ।

अनन्या फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र वि.सं. २०८२ सालमा प्रदर्शन भई बक्स अफिसमा उत्कृष्ट व्यापार गर्न सफल हिट फिल्म ‘जेरी : अन टप’ को सिक्वेल हो। हिमाली परिवेशको उत्कृष्ट रोमान्टिक प्रेमकथा प्रस्तुत गरेको अघिल्लो शृङ्खला अनन्या फिल्म्सकै इतिहासमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको रूपमा दर्ता छ। गत साता मात्रै निर्माण कम्पनीले यसको दोस्रो शृङ्खला बनाउने घोषणा गरेको थियो। चलचित्रका अन्य कलाकारहरूको भने क्रमशः टुंगो लगाइने निर्माता न्यौपानेले जानकारी दिएका छन्।

हाल यस चलचित्रको पटकथा लेखन कार्य तीव्र रूपमा अघि बढिरहेको छ। चर्चित लेखक ब्रजेश खनालले यसको स्क्रिप्ट तयार पारिरहेका छन्। निर्माण पक्षका अनुसार पटकथालाई पूर्णता दिन अझै दुईदेखि तीन महिनाको समय लाग्नेछ र त्यसपछि मात्र चलचित्रको छायांकन सुरु गरिने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu