
काठमाडौं – नेपाली हास्य क्षेत्रका लोकप्रिय नाम कुमार कट्टेल (जिग्री ब्रो) र दीपकप्रसाद आचार्य (काकु) को आगामी चलचित्र ‘चिरञ्जीवी भवः’ को मुख्य भूमिकामा नायक आशीर्वाद क्षेत्री भित्रिएका छन्। निर्माण टोलीले बुधबार औपचारिक रूपमा उनलाई सिनेमामा अनुबन्धित गरिएको जानकारी गराएको हो।
यसअघि नै चर्चित मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझीले यसै फिल्ममार्फत ठूलो पर्दामा डेब्यु गर्ने पक्का भइसकेको छ। गत आइतबार मात्रै सार्वजनिक गरिएको एक आकर्षक पोस्टरमार्फत निर्माण पक्षले प्रशंसालाई रजतपटमा स्वागत गरेको थियो। यद्यपि, चलचित्रमा आशीर्वाद र प्रशंसा एकअर्काको अपोजिटमा अर्थात् जोडीको रूपमा प्रस्तुत हुने वा नहुने भन्ने विषयलाई भने टिमले हालसम्म रहस्यमै राखेको छ।
नयाँ वर्ष २०८३ को सुखद अवसर पारेर गत मंगलबार औपचारिक रूपमा घोषणा गरिएको यस फिल्मलाई दीपकप्रसाद आचार्यले निर्देशन गर्दैछन्। समसामयिक परिवेशमा आधारित रहेर दुई पुस्ताबीचको वैचारिक टकराव र सम्बन्धको गहिराइलाई पर्दामा उतार्ने यो एक सामाजिक ड्रामा जनराको चलचित्र हो। यसको मूल कथा कुमार कट्टेल स्वयंले बुनेका हुन् भने लेखनमा सविन अधिकारी र बसन्त न्यौपानेले सहकार्य गरेका छन्।
सिनेमाको निर्माण उमेश कुमार बरालले गर्दैछन् भने कार्यकारी निर्माताको जिम्मेवारी कुमार कट्टेल र शैलेश खत्रीले सम्हालेका छन्। ‘चिरञ्जीवी भवः’ निर्देशक आचार्यको करियरको दोस्रो कथानक चलचित्र हो। यसअघि उनको निर्देशनमा बनेको ‘परान’ वर्ष २०८२ कै सर्वाधिक व्यापारिक सफलता हासिल गर्ने ब्लकबस्टर फिल्म बन्न सफल भएको थियो। त्यस्तै, कट्टेलको अभिनय तथा निर्देशन रहेको ‘लाज शरणम्’ ले पनि बक्स अफिसमा सानदार प्रदर्शन गरेको थियो।
आशीर्वाद क्षेत्रीको प्रवेशसँगै चलचित्रको स्टारकास्ट थप मजबुत र आकर्षक बनेको छ। हाल फिल्मको छायांकनका लागि आवश्यक पर्ने अन्य बाँकी कलाकार तथा प्राविधिक टोली छनोटको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको निर्माण युनिटले जनाएको छ।




