काठमाडौं – बालविवाह र महिला हिंसाविरुद्धको आवाज उठाउने नेपाली चलचित्र ‘जुना’ आगामी माघ २५ गते रिलिज हुने भएको छ । गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रले नेपाली समाजका विकृति विसङ्गतिलाई पर्दामा उतारेको छ ।
जीवन सेन्चुरीको निर्देशनमा बनेको यस चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले ‘बालविवाह सामाजिक अपराध हो’ भन्ने सन्देश दिँदै समाजमा व्याप्त महिला हिंसा, बहुविवाह, बलात्कार जस्ता कुप्रथाको अन्त्यका लागि जनचेतना फैलाउने उद्देश्य राखेको छ ।
यसले बालविवाह र महिला हिंसाविरुद्धको सशक्त सन्देश दिने निर्देशक सेन्चुरीले बताए । निर्देशकले यस चलचित्रले नेपाल सरकारले सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने लक्ष्यलाई सघाउने विश्वास व्यक्त गरे ।