६ देशको युट्युब ट्रेन्डिङमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’: माल्टामा पहिलो, नेपालमा चौथो



काठमाडौं – वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को हालै सार्वजनिक गरिएको नयाँ गीत ‘मखमली’ युट्युबमा ट्रेन्डिङको यात्रामा सफलता कायम गर्दै अगाडि बढिरहेको छ । बिहीबार साँझ रिलिज भएको यो गीत रिलिज भएको २ घण्टाभित्रै नेपालीहरूको बाहुल्य रहेका विभिन्न देशहरूमा ट्रेन्डिङमा प्रवेश गरेको थियो ।

यति बेला नेपालमा चौथो स्थानको ट्रेन्डिङमा रहेको छ भने माल्टामा पहिलो स्थान, कतारमा दोस्रो, युएईमा नवौँ, कुवेतमा तेह्रौँ र अस्ट्रेलियामा सत्ताइसौं स्थानमा रहेको छ । गीतको रफ्तार हेर्दा चलचित्रले पनि यसै गरी दर्शकको मन जित्ने थप विश्वास बढेको ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहानले बताए ।

यो गीतले नेपाली लोक सङ्गीतको चर्चित ‘कौडा/चुट्का’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । पाँचथर र नेपाल–भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो चलचित्रका गीत तथा दृश्यहरूले दर्शकहरूको मन जितिरहेका छन् ।

‘मखमली’ गीतलाई सुजन चापागाईँ र सुनिता थेगिमले स्वर दिएका छन् । हर्क साउदको शब्द रचना, सुजन चापागाईँकै सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको छ । दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।

गीतको टीजर नै केही दिनअघि सार्वजनिक हुँदा दर्शकहरूको अत्यधिक रुचि पाएको थियो । पूर्ण गीत सार्वजनिक भएपछि यो अपेक्षाकृत चर्चित बनेको छ । यस गीतबाट दर्शकहरूले चलचित्र हेर्न व्यग्र प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेका छन् ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu