काठमाडौं – नेपाली र चिनियाँ चलचित्र उद्योगबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ । आगामी ९ जनवरीमा हुने यस कार्यक्रममा चिनियाँ चलचित्र निर्माता, कलाकार र चाइना फिल्म एडमिस्ट्रिेसनका निर्देशक सु याङ नेपाल आउनेछन् ।
नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी र चीनको चाइना फिल्म एडमिनिस्ट्रेसनले संयुक्तरुपमा यो कार्यक्रम आयोजना गरेका हुन् ।
चिनियाँ पाहुनाहरूले नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डसँग भेटघाट गरी नेपालमा चलचित्र छायाङ्कन र संयुक्त उत्पादनका सम्भावनाहरूबारे छलफल गर्नेछन् । यसबाहेक, उनीहरूले काठमाडौं दरबार स्क्वायर जस्ता ऐतिहासिक स्थलहरूको भ्रमण गरी छायाङ्कनका लागि उपयुक्त स्थानको खोजी गर्ने फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले जनाएका छन् ।
‘चाइना फिल्म डे’ मा तीन वटा चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ । यस कार्यक्रमले दुई देशका दर्शकलाई एक अर्काको चलचित्र संस्कृतिसँग परिचित गराउने अपेक्षा गरिएको छ ।
यस कार्यक्रमले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई थप प्रवर्द्धन गर्नेछ । चिनियाँ पाहुनाहरूको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
नेपालमा ‘चाइना फिल्म डे’ पछि चीनमा पनि नेपाली चलचित्र महोत्सव आयोजना गर्ने योजना एकेडेमीले बनाएको अध्यक्ष पाठकले बताए । यसले दुवै देशका चलचित्रकर्मीहरूलाई एक अर्कासँग सहकार्य गर्न थप प्रोत्साहन दिने विश्वास गरिएको छ ।