सार्वभौमिक सन्देश बोकेको चलचित्र ‘कार्साङ’



काठमाडौं – चलचित्र ‘कार्साङ’का कलाकार तथा निर्देशकले आफ्नो सिर्जनाले दर्शकको मन छुने विश्वास व्यक्त गरेका छन् । यो चलचित्र कुनै विशेष समुदाय र भूगोलको कथा भएता पनि यसले बोकेको सार्वभौमिक सन्देशले सबैलाई छुने उनीहरूको दाबी छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटका क्रममा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता दयाहाङ राईले आफूले झाँक्रीको जटिल भूमिका निभाएको उल्लेख गर्दै यस क्रममा आफूले नयाँ अनुभव बटुलेको बताए । उनले भने, ‘मेरो झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो । आगोमा नाच्नु पर्ने थियो । चलचित्र हो, चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ । तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो । निर्देशक पनि खासै केही हुँदैन भन्नुहुन्थ्यो । मलाई के गर्नु–गर्नु भयो । ट्राई चाहिँ गर्छु भन्ने भयो । आगोमा पसेँ सफल भएँ । उहाँहरूसँग यसको ज्ञान रहेछ,” राईले बताए ।

निर्देशक यम शेर्पाले ‘कार्साङ’को कथावस्तु र कलाकारको अभिनयले चलचित्रलाई अझ सशक्त बनाएको बताए । उनले दर्शकले यो चलचित्रमा आफ्नै जीवनसँग मिल्दोजुल्दो पात्र र घटना पाउने विश्वास व्यक्त गरे ।

अन्य कलाकार जितु नेपाल र सिर्जना निङलेखुले पनि चलचित्रको विषयवस्तु र आफ्नो भूमिकाबारे उत्साहपूर्वक प्रतिक्रिया दिए । जितुले चलचित्रको प्रचारका क्रममा आफूलाई दर्शकबाट प्राप्त प्रतिक्रियाबारे बताउँदै यसले आफूलाई थप उत्साहित बनाएको बताए । सिर्जनाले भने ‘कार्साङ’ आफ्नो पहिलो चलचित्र भएकोले यसको सफलताका लागि आफू उत्सुक रहेको बताइन् ।

‘कार्साङ’ पुस २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । यो चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक पक्षलाई समेटेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रमा दयाहाङ, सिर्जना, जितु, दिया मास्केसहित अन्य कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu