
काठमाडौं – फागुन १४ गते रिलिज हुने नेपाली चलचित्र ‘मायावी’का निर्देशक दिवाकर भट्टराईले यस चलचित्रले प्रेमको नयाँ आयामलाई पर्दामा उतारेको बताएका छन् । उनले प्रेमको परम्परागत धारणाभन्दा बाहिर गएर प्रेमको त्याग र जुनुनलाई मार्मिक ढङ्गले चित्रण गरिएको बताए ।
‘मायावी’ मा प्रेम पाउनेभन्दा पनि प्रेम त्याग्नेको कथा बढी प्रस्तुत गरिएको र पीडा भोग्दा पनि खुसी रहन सक्ने पात्रको कथा रहेको भट्टराईले बताए । “मायावी भनेको शाब्दिक अर्थमा सुन्दर जाल हो, आकर्षण हो । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतीक हो मायावी,” भट्टराईले भने ।
पोखराको सुन्दर परिवेशमा खिचिएको यो फिल्ममा एउटा सामान्य परिवारको कथा देखाइएको निर्देशकको कथन छ । दिवाकरका अनुसार, “पाएर गुमाउन सक्नुहुन्छ, तर गुमाएर पनि पाइरहनु मायावी हो ।”
‘मायावी’ दिवाकर भट्टराईको मनको कथा हो । उनले भने, “यो मैले मेरो मनबाट बनाएको चलचित्र हो, मैले मनदेखि भन्न खोजेको कथा हो मायावी ।” उनले यसअघिका चलचित्रमा जस्तो एउटा निर्देशकको रूपमा मात्र काम नगरी, आफ्नो भावनालाई चलचित्रमा उतारेको बताए ।
‘मायावी’ मा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।