
काठमाडौं – चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो ।
टिजरमा चलचित्रका मुख्य कलाकारहरू सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायतलाई देख्न सकिन्छ ।
टिजरको सुरुवात वैदेशिक रोजगारीका लागि घर छोड्न लागेको छोरालाई बुवाले गरेको कामनाबाट हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछि उत्पन्न तनावलाई टिजरले प्रस्तुत गर्दछ । तर, त्यसमै केही रहस्य रहेको कलाकारको हाउभाउबाट अनुमान गर्न सकिन्छ । विदेश गएको छोरो फर्किसकेपछि नदीमा डुबेको व्यक्तिको उद्धार र द्वन्द्वका दृश्यहरूले टिजरलाई थप रोचक बनाएको छ ।
गरिबी र बेरोजगारीले पिल्सिएका नागरिकको दुःखलाई चलचित्रले उजागर गर्ने सङ्केत टिजरले दिएको छ । टिजर सार्वजनिक भएसँगै सशक्त प्रतिक्रिया प्राप्त भएका छन् ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र हो । कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरेको यो चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेका छन् । सुदीप बरालले सिनेमाको छायाङ्कन गरेका हुन् ।
टिजर: