
काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘रङ्गी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो, जसमा बाबु र छोरीको प्रेम, हास्य र पीडाको मिश्रण देखाइएको छ ।
ट्रेलरमा अभिनेता सलोन बस्नेतको विवाह र छोरी आयुषी ढकालको जन्मबाट सुरुवात हुन्छ । यसमा बाबु र छोरीबीचको प्रेम, सङ्घर्ष र नोकझोकलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, साथै सलोन, नम्रता र आयुषीबीचको सम्बन्धलाई पनि ट्रेलरमा देखाइएको छ । ट्रेलरको अन्त्यमा आयुषीले स्टेजबाट आफ्नो बाबुप्रति देखाएको प्रेम र संवादले दर्शकको मन छुन्छ । साथै, ट्रेलरमा आयुषीलाई सिटी स्क्यान मेसिनमा राखेको दृश्यले उनलाई गम्भीर रोग लागेको अनुमान गर्न सकिन्छ ।
यो चलचित्र आगामी फागुन २ गते रिलिज हुनेछ । निर्मात्री करिश्मा केसी बस्नेतले चलचित्रमा बाबु र छोरीबीचको मायालाई फरक ढङ्गले प्रस्तुत गरेको बताइन् । प्रस्तुत कर्ता समेत रहेका अभिनेता सलोन बस्नेतले ‘रङ्गी’लाई सङ्घर्ष र मायाको कथाको रूपमा बुझ्न आग्रह गरे । निर्देशक सुरेश न्यौपानेले यो फिल्ममात्र नभई एउटा भावनाको प्रस्तुति पनि रहेको दाबी गरे । अभिनेत्री नम्रता श्रेष्ठले यस चलचित्रमा काम गर्दा धेरै दबाब झेल्नु नपरेको जनाइन् भने बाल कलाकार आयुषी ढकालले ट्रेलरलाई दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताइन् ।
सुरेश न्यौपानेको निर्देशनमा बनेको ‘रङ्गी’मा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीले अभिनय गरेका छन् ।
ट्रेलर: