
काठमाडौं – नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता राजबल्लभ कोइरालाको कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक गरिएको छ । चलचित्रमा सफल यात्रा गरेपछि उनी साहित्यिक कृतिका साथ ‘कवि’को परिचय थपेका हुन् ।
शनिवार काठमाडौंमा आयोजना गरिएको ‘औरा’ सार्वजनिक समारोहमा कोइरालाले यहाँसम्म आइपुग्न आफूलाई ४३ वर्ष लागेको बताए । “कलाकार संवेदनशील हुन्छन्, कवि पनि । आज मेरो दुई पक्ष, कलाकार र कविले आत्मीयता पाएको अनुभूति गरेको छु । यहाँसम्म आइपुग्न मलाई ४३ वर्ष लाग्यो,” कार्यक्रममा कोइरालाले बताए ।
राजबल्लभले यो कविता सङ्ग्रह आफ्नी छोरी औरामा समर्पित रहेको बताए । “मेरो कविता मन पराउनेहरूले कहिलेकाहीँ कविता सङ्ग्रह निकाल्न आग्रह गर्नुहुन्थ्यो । यो पुस्तक मेरो छोरीका लागि एउटा उपहार हो, साथै मलाई माया गर्ने सबैका लागि पनि । पछिल्लो पटक ‘एक्टर: टेक वन’ चलचित्रको छायाङ्कन चलिरहँदा यस पुस्तकको तयारी भएको थियो ।”

आफू कवि नभएको, तर कवि भनेर माया पाएको बताउँदै कोइरालाले पछाडि फर्केर हेर्दा, आफ्ना पिताले पनि कहिलेकाहीँ कविता लेख्ने गरेको सम्झना गरे । “समाजमा देखिने दुःखहरूले मलाई गहिरो रूपमा प्रभावित पार्थे । हाम्रो घरमा गन्धर्वहरूले पीडाका गीत गाउने गर्थे, जसले मलाई झन् प्रभाव पार्यो । स्कुले जीवनमै कविता लेख्न थालेको थिएँ,” उनले भने ।
कोइरालाले आफ्नो छोरी औरा र श्रीमती प्रतिमालाई समर्पित गर्दै कविता वाचन गरे ।
पुस्तक विमोचनका अवसरमा साहित्यकार विप्लव प्रतीक, पत्रकार दिलभुषण पाठक, चलचित्र निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता तथा गीतकार अवीरल थापालगायत सर्जक तथा साहित्यप्रेमीहरूले यस सङ्ग्रहका कविता वाचन गर्दै धारणा राखे ।
साहित्यकार विप्लव प्रतीकले पुस्तकको उत्कृष्ट डिजाइन र कविताहरूको गहिराइको प्रशंसा गरे । उनले भने, “हामी यहाँ टिप्पणी गर्न होइन, यो पुस्तक उत्सव मनाउन भेला भएका हौँ । म पुस्तकको आवरण डिजाइनको क्रूर समीक्षक हुँ, तर यो कृतिको आवरण साँच्चै उत्कृष्ट छ । कविताहरू जति सुन्दर छन्, यसको आवरण पनि उत्तिकै आकर्षक छ । यसले मलाई अत्यन्त खुसी बनायो ।”
प्रतीकले आफूले राजबल्लभ कोइरालालाई पहिलो पटक अमेरिकाको ड्यालसमा भेटेको सम्झना गर्दै पहिलो भेटबाट नै घनिष्ठ रहेको बताए । “सामान्यतया म मानिसहरूसँग चाँडै नजिकिन सक्दिन, तर राजसँग भने एकदमै घनिष्ठ सम्बन्ध बन्यो । एक दिन उसले मलाई कविता सुनायो, जसले मलाई गहिरोसँग छोयो । साँचो कवि बन्न राजमा भएको जस्तो समर्पण आवश्यक हुन्छ । मैले यस पुस्तकमा रहेका सबै कविता पढिसकेको छु, र ती सबै कविता बन्न योग्य छन्,” उनले बताए ।

‘औरा’ सङ्ग्रहलाई साहित्यपोस्ट डटकमले प्रकाशन गरेको हो । १०० भन्दा बढी कविताहरू समावेश गरिएको यो सङ्ग्रहको आवरण कलाकार चिराग बाङ्देलले डिजाइन तयार गरेका छन् ।
“कविताहरू सबै प्रकारका छन् । विशेष गरी विभिन्न परिवेश र अवस्थाका मानवीय भोगाइ तथा संवेदनाहरूलाई समेटेका छन् । जीवन तत्त्व र मानवीय संवेदनाहरूको विचार मन्थनको रूपमा मैले यो सङ्ग्रहलाई लिएको छु । यी कविताहरू पढ्दा निकै आफ्नोपन महसुस हुन्छ भन्ने विश्वास छ । मेरा कविता पछ्याउनेहरूले कतै कतै पढेको जस्तो पनि लाग्न सक्छ,” ठुलोपर्दासँग राजबल्लभ कोइरालाले भने ।
राजबल्लभको करियरको सुरुवात पोखराको एफएम रेडियोबाट भएको थियो । त्यसपछि काठमाडौंमा आयोजित एक अभिनय प्रतियोगितामा जित हात पार्दै उनले सन् २००७ मा चलचित्र ‘पर्खी बसेँ’ बाट अभिनय यात्रा थालेका थिए । ९ वर्षको करियरमा करिब तीन दर्जन चलचित्रमा अभिनय गरेका कोइरालाले लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए ।
अब उनी करिब १० वर्षपछि नयाँ चलचित्र ‘एक्टर: टेक वन’ मार्फत अभिनयमा पुनः फर्किएका छन्, जुन चलचित्र हाल सफलताका साथ प्रदर्शनमा छ ।
फोटो: विवेक बस्याल