
काठमाडौं – नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र अमेरिकी दूतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किसबीच बोर्डको कार्यकक्षमा औपचारिक छलफल भएको छ ।
उक्त छलफलमा नेपाली चलचित्रको वर्तमान अवस्था, नेपाल र अमेरिकामा आयोजना हुने चलचित्र अवार्ड तथा सम्मान समारोह, र चलचित्रकर्मीहरूको अमेरिका भिसा सम्बन्धी विषयमा छलफल भएको थियो । भिसा प्रमुख सिम्किसले नेपालमा हुने फिल्म अवार्डको छनोट प्रक्रिया, विश्वसनीयता र कलाकारहरूले प्राप्त गर्ने सिफारिस पत्रको आधिकारिकतामाथि चासो राखेका थिए ।
अध्यक्ष डिसीले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल-अमेरिका सांस्कृतिक सम्बन्धलाई थप मजबुत पार्नका लागि नेपाली फिल्मकर्मीहरूले अमेरिकामा हुने फिल्म महोत्सव, कार्यशाला तथा अन्य सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहजता पाउनुपर्ने बताए । उनले नेपालमा पनि ठुलो स्तरमा अमेरिकी र नेपाली चलचित्रको विशेष कार्यक्रम गरिनुपर्नेमा जोड दिए ।
भिसा प्रमुख सिम्किसले अमेरिकी दूतावास नेपाली फिल्मकर्मीहरूको भिसा प्रक्रियालाई सहजीकरण गर्न सकारात्मक रहेको बताएको बोर्ड स्रोतले जनाएको छ ।