नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अञ्जना उत्कृष्ट



काठमाडौं – काठमाडौंमा तीन दिनसम्म चलेको ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण शनिवार सम्पन्न भएको छ । सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा चलचित्र विकास बोर्डमा आयोजित समारोहमार्फत विभिन्न विधामा अवार्ड प्रदान गर्दै महोत्सव समापन गरिएको हो ।

नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा भएको महोत्सवमा ४७ देशका ९८ चलचित्र अन्तिम प्रतिस्पर्धामा पुगेका थिए । यी सबै चलचित्र महोत्सव अवधिभर प्रदर्शन गरियो ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भारतको ‘पुभु’ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्र घोषित भयो । सोही चलचित्रबाट मन्जुलन केभीले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेता को अवार्ड जिते । अमेरिकाको ‘ला फोर्स’ का निर्देशक जी ओभानी एम जेल्को सर्वोत्कृष्ट फिचर निर्देशक बने, भने जर्मनीको ‘इम्पियोर’ की युनिस कचीरुवा सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।

यस्तै, बङ्गलादेशको ‘सौदा’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघु चलचित्र, रसियाको ‘द रि युनियन’ ले सर्वोत्कृष्ट महिला चलचित्र, भियतनामको ‘लस्ट फर फ्रिडम’ ले सर्वोत्कृष्ट बाल चलचित्र तथा क्यानडाको ‘नुरागा भूमि’ ले सर्वोत्कृष्ट वृत्तचित्र को अवार्ड जिते ।

सर्वोत्कृष्ट वातावरणीय चलचित्र स्पेनको ‘द सोल अफ ज्यास्मिन’, मानव अधिकार चलचित्र अमेरिकाको ‘अमेरिकन फुल ब्रोड’, एनिमेसन चलचित्र दक्षिण अफ्रिकाको ‘फ्लावर अफ दि पार्टिसन’, सर्वोत्कृष्ट सिनेमाटोग्राफी स्पेनको ‘स्पिक सन लाइट’, र उत्कृष्ट स्क्रिप्ट इटालीको ‘आउट डियर’ ले जिते ।

राष्ट्रिय प्रतिस्पर्धामा सर्वोत्कृष्ट चलचित्रको अवार्ड ‘बुलाकी’ ले जित्यो । सर्वोत्कृष्ट निर्देशकको अवार्ड ‘पुजार सार्की’ का निर्देशक दिनेश राउत ले पाए । सोही चलचित्रका आर्यन सिग्देल ले सर्वोत्कृष्ट अभिनेता, भने अञ्जना बराइली ले सर्वोत्कृष्ट अभिनेत्री को अवार्ड जिते ।

सर्वोत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड ‘बुलाकी’ का शिव ढकाल, उत्कृष्ट स्क्रिप्टको अवार्ड ‘पखेटा’ का सनोल दास, र इन्करेजमेन्ट अवार्ड अभिनेता नरेन खड्का ले प्राप्त गरे ।

लघु चलचित्रतर्फ ‘रित्तो गाउँ’ (रामजी ज्ञवाली), वृत्तचित्रतर्फ ‘नो मोनास्ट्री नो भिलेज’ (टासी ल्हाजोम), महिला चलचित्रतर्फ ‘पिरियड’ (रेवती गुरुङ), बाल चलचित्रतर्फ ‘द स्कुल वाल’ (मोहन श्रेष्ठ), र सांस्कृतिक चलचित्रतर्फ ‘चिपागु निला’ (योवन शाक्य) ले अवार्ड जिते ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका निर्णायकहरूमा भारतका निर्देशक निपोन धौला, जर्मनीका फाविन मात्थियस र इभिन बिराजी, बेलायतकी लुईसा प्रिटोलानी, क्यानडाकी निर्देशक जुडी ग्लाड्स्टोन, इरानकी अभिनेत्री तिमा टाघिजादेह, बहराइनका निर्माता इभा दाउद, र रसियाकी इरिना बेराजी थिए ।

राष्ट्रिय प्रतिस्पर्धाको निर्णायक टोलीमा वरिष्ठ सङ्गीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बासकोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, निर्देशक दीपेन्द्र के. खनाल, निर्माता/निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङ्देन, र टेलिभिजनकर्मी टिकाराम यात्री थिए ।

समापन समारोहमा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्रको विकास र प्रवर्द्धनका लागि यस्ता महोत्सव महत्त्वपूर्ण रहेको बताए । उनले नेपालमा आएका विदेशी अतिथिहरूलाई “भगवानसरह सम्मान गर्ने” भन्दै आगामी संस्करणमा पनि सहभागिता जनाउन आग्रह गरे ।

महोत्सवका अध्यक्ष एवम् निर्देशक सन्तोष सुवेदी ले नेपालमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव सञ्चालन गर्न कठिनाइ भए पनि राज्यको साथ र सहयोगले अझ भव्य रूपमा आयोजनाको सम्भावना रहेको बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले नेपालमा भइरहेको यस्ता अन्तर्राष्ट्रिय महोत्सवहरूले नेपाली चलचित्रलाई विश्व मञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu