काठमाडौं – यस वर्षको सफल चलचित्र ‘घरज्वाइँ’को निर्माण टिमले नयाँ चलचित्र ‘मितज्यू’ घोषणा गरेको छ । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर घोषणा गरिएको यो चलचित्रको निर्माण जनक घर्ती मगरले गर्नेछन् भने निर्देशन अनिल बुढा मगरको रहनेछ ।
सोमबार सार्वजनिक चलचित्रको पेन्टिङ थिम पोस्टरमा दुई पात्रलाई सामान बोक्ने भ्यान अगाडि हातको पञ्जा जुधाउँदै गरेको अवस्थामा देखाइएको छ । भ्यानको माथि खसी र खसीको टाउकोमा कुखुराको भाले देखाउन खोजिएको दृश्यले कथावस्तुबारे केही सङ्केत गरेको छ । नोभिस आर्ट्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ पुष्प आले मगरले तयार पारेका हुन् ।

‘मितज्यू’ आगामी वर्ष २०८२ चैत्र २७ गते बाट प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ । चलचित्रलाई नेपालभर आरआर फिल्मस् ले वितरण गर्नेछ । जिएम मुभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्रको लेखन महेश राईले गरेका छन् भने प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई रहनेछन् ।
चलचित्रको कलाकारको बारेमा भने जानकारी दिइएको छैन ।