
काठमाडौं – टिजर, गीतसङ्गीत र ब्रेकअप कविताले दर्शकको उत्सुकता बढाइसकेको नेपाली चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शनको १० दिनअघि मात्रै सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, पीडा, कवितात्मक संवाद र गहन भावनालाई प्रस्तुत गरिएको छ । चलचित्र फागुन २ गते रिलिज हुँदैछ ।
ट्रेलरमा प्रयोग गरिएको एउटा कविता छ, “नदीले बगरलाई सोधिन् – के तिमीलाई प्यास लाग्दैन? बगरले जवाफ दिइन् – युगौँदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु।” यो कविताले चलचित्रले बोक्न खोजेको भावनात्मक गहिराइ झल्काउँछ । विशेष रूपमा, श्रवण मुकारुङका १० ओटा कविता समावेश गरिएको यस फिल्मले नेपाली सिनेमामा कवितात्मक अभिव्यक्तिको नयाँ प्रयोग गरेको देखिन्छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय छ ।
क्लर्क वर्क क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रमा हिमाल कडरियाको लगानी रहेको छ भने कार्यकारी निर्माताको रूपमा सुदिप ढकाल छन् । आलोक शुक्लाको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ ।
ट्रेलर: