निर्देशकको आत्मविश्वास देखेर निर्माता बनेका घिमिरे, ‘जुना’ सफल हुने विश्वास



काठमाडौं – झन्डै ३० वर्षअघि ‘हिरो’ बन्ने सपना बोकेर नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अहिले चलचित्र निर्माताको रूपमा उदाएका छन् । यही माघ २५ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘जुनाः एक व्यथा’ मार्फत उनी निर्माताको रूपमा दर्शकमाझ आउँदैछन् ।

यसका निर्देशक जीवन सेन्चुरीले ‘जुनाः एक व्यथा’को स्क्रिप्ट लिएर घिमिरेको कार्यालयमा पुगेपछि उनको जीवनले नयाँ मोड लिएको थियो । बालविवाहको विषयवस्तुले घिमिरेलाई चलचित्र निर्माणमा आकर्षित गर्‍यो ।

घिमिरेले स्क्रिप्ट नपढी जीवनको आत्मविश्वासलाई देखेर चलचित्र बनाउने निर्णय गरेका थिए । यसको लागि उनले गोदावरी फिल्म प्रोडक्सन एन्ड रिसर्च प्रालि नामक कम्पनी दर्ता गरे र ‘जुनाः एक व्यथा’ निर्माण गरे ।

यस चलचित्रमा कलाकारको रूपमा अधिकांश नयाँ अनुहार छन् । चलचित्रमा कलाकारहरूको अभिनय क्षमता देखेर घिमिरे ढुक्क छन् । चलचित्रले दर्शकलाई भावुक बनाउने र सफल हुनेमा उनी विश्वस्त देखिन्छन् ।

‘जुनाः एक व्यथा’लाई घिमिरे ४५ वर्षदेखि ७० वर्ष उमेर समूहका आमाहरूको कथा मान्छन् । बालविवाहका कारण नारीमाथि हुने हिंसा र अन्यायको पीडा चलचित्रमा छ । यो चलचित्रले सबै उमेर समूहलाई छुने उनको विश्वास छ ।

‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu