
काठमाडौं – दीपक रौनियारको निर्देशनमा बनेको नेपाली चलचित्र ‘राजागंज’को टिजर सार्वजनिक भएको छ । सत्य घटनाबाट प्रेरित ‘राजागंज’ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथालाई पर्दामा ल्याएको छ ।
चलचित्रमा सात महिला पात्रलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ, जसमा आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, र आरती मण्डल रहेका छन् । साथै, दयाहाङ राई, विजय बराल, घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठ लगायतका कलाकारहरूको प्रमुख अभिनय रहेको छ ।
‘राजागंज’ले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला चलचित्र महोत्सवहरूमा आफ्नो प्रभाव जमाइसकेको छ । यो चलचित्र गत कार्तिक महिनामा मात्रै ५ वटा फेस्टिभलमा स्क्रिनिङ भएको थियो । भेनिसमा यसले १० मिनेटको स्ट्यान्डिङ ओभेसन पाएको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो भने ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रूपमै रौनियारको प्रशंसा गरेका थिए ।
आगामी चैत्र १ गतेबाट यो चलचित्र नेपालभरका सिनेमा घरहरूमा रिलिज हुनेछ । यसको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बाँसुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनीराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । कार्यकारी निर्माताको रूपमा प्रसिद्ध बलिउड निर्देशक, लेखक, अभिनेता तथा निर्माता अनुराग कश्यप रहेका छन् ।
टिजर: