दीपिकालाई ‘मायावी’ लाग्छ विशेष, भन्छिन् – मेरो दोस्रो सन्तान हो



काठमाडौं – लामो समयको अन्तरालपछि अभिनेत्री दीपिका प्रसाईँ पुनः ठुलो पर्दामा फर्किन लागेकी छिन् । आउँदो फागुन १४ गते रिलिज हुने नेपाली चलचित्र ‘मायावी’लाई उनले आफ्नो सपना पूरा भएको क्षणको रूपमा लिएको बताएकी छन् ।

मिडियासँगको कुराकानीमा दीपिकाले ‘मायावी’ आफ्नो लागि निकै विशेष रहेको बताइन् । उनले भनिन्, “यो प्रोजेक्ट पाँच वर्ष अगाडिदेखिको यात्रा हो । जब चलचित्रको काम सुरु भयो, म गर्भवती भएको थाहा पाएँ । त्यो अवस्थामा मैले या त फिल्म छोड्नुपर्थ्यो, या त सन्तान । तर, मैले भगवानको नाम पुकारेर दुवैलाई सम्हाल्ने निर्णय लिएँ ।”

चलचित्रको छायाङ्‌कन अवधिभर उनले शारीरिक रूपमा धेरै कठिनाइ झेल्नु परेको पनि स्मरण गरिन् ।छायाङ्कनको क्रममा दीपिका यस्तो अवस्थामा पुगिन्, जहाँ उनलाई चलचित्र गर्न नसक्ने जस्तो महसुस भयो । उनले भनिन्, “मैले निर्देशक दिवाकर भट्टराईलाई ‘अब यो फिल्म म गर्न सक्दिनँ, तपाईँले अरू नायिका खोज्नुस्’ भनेकी थिएँ । तर, उहाँले मलाई हरेक पटक ‘तिमीबिना यो फिल्म सम्भव छैन’ भन्दै प्रेरित गर्नुभयो । त्यसैले मैले यो फिल्म गर्नुपर्‍यो ।”

दीपिकाले चलचित्रलाई आफ्नै जीवनको अभिन्न अंशका रूपमा लिएको बताइन् । “मायावी मेरो दोस्रो सन्तान जस्तै हो,” उनले हाँस्दै भनिन् ।

चलचित्रको शीर्षकले दर्शकलाई उत्सुक बनाएको छ । दीपिकाका अनुसार, ”मायावी शब्द माया जालका रूपमा बुझिन्छ, तर हाम्रो फिल्ममा यसको अर्थ आकर्षण र प्रेमको पागलपन हो ।”

यो चलचित्रलाई दीपिकाले ‘प्रेमको पागलपन’ को कथा भनेकी छिन् । दिवाकर भट्टराईको निर्देशनमा तयार भएको यस फिल्ममा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारहरूको अभिनय छ ।

दीपिकाले बाहिरी ब्यानर वा आफ्नै ब्यानरका चलचित्रमा काम गर्न कुनै समस्या नभएको बताउँदै आफूले अब निरन्तर चलचित्र क्षेत्रमा लाग्ने योजना बनाएको खुलाइन् ।

‘मायावी’ ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन्त को लगानीमा बनेको हो । कार्यकारी निर्माता प्रवीण भट्टराई र करण सिंह हुन् भने मञ्जु भण्डारी, राजु पराजुली, सुमित वली सह-निर्माताका रूपमा छन् ।

Advt.
Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu