
काठमाडौं – काठमाडौंमा जारी ह्वाइट हाउस लिट्रेचर फेस्टिभलमा हालै पत्रकार तथा लेखक राज सरगमसँग साहित्य, सङ्गीत र अभिनयका विविध आयामबारे रोचक कुराकानी भएको छ । लेखक तथा पत्रकार वसन्त बस्नेत, गायिका अभया सुब्बा र कलाकार विजय बराल सहभागी सो गफगाफमा विभिन्न मुद्दाहरूमाथि छलफल गरिएको थियो ।
हालै नेपालमा मात्र ५० करोड माथिको व्यापार गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजय बरालले अभिनयलाई पढाइले निखरता ल्याउने बताए । “अभिनय जन्मजातै हुन्छ । हरेक कुरा ‘अब्जर्भेसन’ गरेर त्यसैको नक्कल गर्ने नै अभिनय हो । तर, त्यसलाई भावमा रूपान्तरण गर्नुपर्छ,” उनले भने । उनले अभिनय पनि एक जनरा भएको भन्दै प्राकृतिक अभिनयलाई सबैले मन पराउने गरेको बताए । उनले आफ्नो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’लाई धेरैले मन पराउनुको कारण पनि यही भएको बताए ।

बरालले सहायक भूमिकामा रहँदा र अहिले मुख्य भूमिकामा अनुबन्धित हुँदा अभिनयमा फरक नभए पनि त्यसलाई डोर्याउने तरिकामा भने फरक हुने बताए । “सहायक भूमिका भनेको बाटोको काँडा सफा गर्ने जस्तै हो तर मुख्य भूमिकामा जिम्मेवारी बोध र दबाब महसुस हुने रहेछ,” उनले भने। उनले अहिले आफ्नो पारिश्रमिक ५ गुणा बढेको र जिम्मेवारी पनि उस्तै बढेको बताए ।
“फिल्ममा अब त तपाई पनि हिरो है” भन्ने प्रश्नमा उनले हाँस्दै भने, “हिरो त म मेरो श्रीमती र छोरोको मात्रै हो, अरूको लागि त क्यारेक्टर हिरो हुने हो ।”
गायिका अभया सुब्बाले अहिलेको पुस्ताको सङ्गीतप्रतिको रुचिमा परिवर्तन आएको बताइन् । “अहिलेका पुस्तालाई सङ्गीतमा शान्ति मन पर्छ, पहिले रिस मन पर्थ्यो,” उनले भनिन् । उनले महिलाहरूको आवाज कम सुनिने गरेको विषयमा पनि आफ्नो धारणा राखिन् । “गायिका र गाउने महिला धेरै भए पनि म यसलाई एउटा पार्ट मात्रै बनाउँछु । गीत आफै लेख्छु, आफै कम्पोज गर्छु । त्यसैले म यहाँ छु,” उनले थपिन् ।
लेखक तथा पत्रकार वसन्त बस्नेतले आफ्नो लेखन अनुभवबारे कुरा गरे । उनले अहिलेसम्म लेखेका दुई थरी पुस्तकहरूको चर्चा गर्दै लेखन सबै साहित्य मान्न नसकिने बताए । “अरू मानिसको निजी भोगाइलाई साहित्य मान्न सकिँदैन,” उनले भने । उनले अहिलेको पुस्ता साहित्यसँग जोडिएको दाबी गर्दै पढ्ने संस्कार कम भयो भन्ने चलन झुटो भएको बताए ।
यसरी साहित्य, सङ्गीत र अभिनयका विविध आयामबारे सो गफगाफमा रोचक कुराकानी भएको थियो ।