
काठमाडौं – यो साता तीन नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । ‘ममी’, ‘जुना’ र ‘सारंग’ नामका यी तीनै चलचित्रको विषयवस्तु फरक छ ।
‘ममी’ मनोवैज्ञानिक थ्रिलर तथा हरर हो भने ‘जुना’ले नारीको पीडा देखाउँछ । ‘सारंग’ बाल मनोविज्ञान, मित्रता र सम्बन्धको कथामा आधारित छ । दर्शकले आफ्नो रुचि अनुसार चलचित्र हेर्न पाउनेछन् ।
सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको ‘ममी’लाई समर निरौलाले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंका कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट र घनश्याम जोशी लगायत कलाकारको अभिनय छ । प्रिमियरमा चलचित्रले उत्साहजनक प्रतिक्रिया पाएको थियो ।
प्रशान्त तामाङको निर्देशनमा बनेको ‘सारंग’मा ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, उत्पल झा, सुरज तमु, समीरमणि दीक्षित र मणि के राईको अभिनय छ । यो चलचित्रले पनि प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको छ । बालविवाह र महिला हिंसाको कथामा बनेको ‘जुना’लाई जीवन सेञ्चुरीले निर्देशन गरेका छन् । ‘जुना’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, खगेन्द्र न्यौपाने र कमल बोहोरा लगायत कलाकारहरु छन् ।
यसैबीच, गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’दोस्रो हप्तामा प्रवेश गरेको छ । दोस्रो हप्तामा पनि यो चलचित्रले १०२ शो प्राप्त गरेको वितरण कम्पनी डीसीएनले जनाएको छ ।