चलचित्र विकास बोर्डद्वारा इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान, मधेसमा पटकथा लेखन तालिम



काठमाडौं – चलचित्र विकास बोर्डले बनेपा नगरपालिका १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान गरेको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले यो स्टुडियो नेपालकै सबैभन्दा ठुलो आकारको हुने दाबी गरेका छन् ।

आइतबार गोरखापत्रको पेज नम्बर १० मा छापिएको बोलपत्र आह्वान सोसल मिडियामा शेयर गर्दै डिसीले भनेका छन्, “यो विज्ञापन स्वदेशी चलचित्रकर्मीहरूको लागि खुसीको कुरा हो भन्ने मेरो ठम्याई छ । करिब २ महिना पछि स्टुडियोको शिलान्यास कार्यक्रममा भेटौँला ।”

४२ रोपनी क्षेत्रफलमा निर्माण हुने यो स्टुडियोले स्वदेशी चलचित्र उद्योगलाई आधुनिक प्रविधिसहितको सुटिङ स्थल प्रदान गर्नेछ ।

मधेसमा पटकथा लेखन तालिम

यस्तै, चलचित्र विकास बोर्डले मधेस प्रदेशको राजधानी जनकपुरमा फागुन १३ देखि १५ गतेसम्म पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाहरूको सहभागिता रहने बताइको छ ।

बोर्डले समावेशी सिद्धान्तका आधारमा मधेस प्रदेशका ८ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि आवेदन आह्वान गरेको छ । आवेदन फाराम बोर्डको वेबसाइटबाट डाउनलोड गरी भरेर बोर्डको इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।

युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखन सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गर्न तालिम सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । बोर्ड अध्यक्ष दिनेश डिसीले मधेसको चलचित्र कर्मलाई राष्ट्रिय मूलधारसँग जोड्ने, मातृ भाषी चलचित्रको प्रवर्द्धन गर्ने बोर्डको लक्ष्य रहेको बताए । प्रशिक्षार्थीहरूबाट तयार पारिएका उत्कृष्ट पाँच पटकथालाई बोर्डका माध्यमबाट प्रस्तुतीकरणका लागि पहल गरिने बोर्ड सदस्य केएल बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu