
काठमाडौं – लोकप्रिय लोक सङ्गीतकार खेम सेन्चुरीले नेपाली चलचित्रमा सङ्गीतकारको रूपमा डेब्यु गर्ने भएका छन् । उनले आगामी फिल्म ‘ए मेरो हजुर ५’ मा सङ्गीतकारको रूपमा काम गर्ने पक्का भएको छ ।
सेन्चुरीले सामाजिक सञ्जालमार्फत आफू यो चलचित्रमा आबद्ध भएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘जीवनमा सबै खाले चुनौती स्वीकार गर्दै अघि बढियो । यो क्रम जारी नै छ । फलको आशा नराखी कर्ममा विश्वास गर्दा यहाँहरूको अपार मायाले एकपछि अर्को सिँढी उक्लने प्रयास गर्दैछु । मेरो साङ्गीतिक जीवन पहिलो पटक नेपाली चलचित्रसँग पनि जोडिने भएको छ ।’
उनले अगाडि लेखेका छन्, ‘सुपरिचित र सशक्त ब्यानर ‘सुहाना इन्टरटेन्टमेन्ट’को निर्माणमा बन्ने नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ५’का लागि साङ्गीतिक सहकार्य गर्दैछु । आशा छ माया गरिदिनुहुनेछ । यो अवसर प्रदान गर्नुहुने आदरणीय व्यक्तित्वहरू निर्देशक एवम् मलाई मन पर्ने नायिका झरना थापाज्यू र निर्माता सुनिलकुमार थापाज्यू प्रति हार्दिक नमन व्यक्त गर्दछु ।’
खेम सेन्चुरी नेपाली लोक सङ्गीत क्षेत्रका चर्चित नाम हुन् । उनका पछिल्ला गीतहरू ‘म त ढलेँ ढलेँ’ र ‘अरेली काँडैले मलाई च्वास्स’ निकै लोकप्रिय छन् । ‘अरेली काँडैले मलाई च्वास्स’ गीतले हालै युट्युबमा १० करोड भ्युज पार गर्दै यो भ्युजको आँकडा पुरा गर्ने पहिलो लोक दोहोरी गीत बनेको छ ।उनी हाल ‘द भ्वाइस अफ नेपाल’को कोचको रूपमा पनि चर्चामा छन्।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो चलचित्रमा झरना थापाको निर्देशन रहनेछ भने सुनिल कुमार थापाले निर्माण गर्नेछन् ।