
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र ‘लाज शरणम्’को एउटा गीतमा स्वर दिएका छन् । ‘नेपाल हासेको…’ बोलको गीतमा बालेनको स्वर सुन्न सकिन्छ । गीत सोमबार सार्वजनिक गरिएको छ ।
मेयर भएपछि बालेनले पहिलो पटक गीत गाएका हुन् भने यो गीतबाट नै बालेनले चलचित्र गायनमा डेब्यु गरेका हुन् । गीतको शब्द, सङ्गीत पनि बालेन शाहकै हो । गीतले नेपालको अवस्था र विकासको विषयलाई समेटेको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा कलाकार अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिस निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय देख्न सकिन्छ ।
बालेनको स्वर रहेको गीतले ‘लाज शरणम्’को चर्चालाई थप बढाउने विश्वास गरिएको छ । फागुन १४ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिनअघि मात्रै ‘हेर्दा हेर्दैमा…’ बोलको गीत सार्वजनिक गरेको थियो । ‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रको निर्देशन कुमार कट्टेलले गरेका हुन् ।
चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’मा अर्जुन घिमिरे, सागर लम्साल, हरिस निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माता हुन् ।
भिडियो: